विभाग गठन बाहेकका विषयमा छलफल गरौं : सभापति देउवा

काठमाडौं । पार्टीभित्र देखिएको असमझदारी र पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रतिपक्षी नेपाली कांग्रेसले छलफल सुरु गरेको छ । पार्टी कार्यालय सानेपामा सोमबार बसेको पदाधिकारीसहितका नेताहरुको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका २७ केन्द्रीय सदस्यले पेस गरेको १६–बुँदे असहमति, कोभिडको असरबारे छलफल गर्न संसदको विशेष अधिवेशन बोलाउने बिषय तथा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

उनले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक मंगलबार पनि बस्ने र ठोस निष्कर्षमा पुग्ने बताए । सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको तथा विधि विधानअनुसार नचलेको भन्दै पौडेल पक्षका केन्द्रीय सदस्यले १६–बुँदे असहमति राख्दै पार्टी कार्यालयमा विरोध पत्र बुझाएका थिए । पार्टी भित्र देखिएको असमझदारीलाई केन्द्रीय समिति बैठक अघि नै अन्त्य गर्नेगरि छलफल अघि बढेको महतले जानकारी दिए ।

महतले पदाधिकारी बैठकले गरेका निर्णयहरुलाई केन्द्रीय समितिबाट पारित गर्ने तयारी भएको जानकारी दिए । बैठकमा सभापति शेरबहादुर देउवाले विभाग गठन बाहेकका विषयमा छलफल गर्न तयार रहेको बताएका थिए । कांग्रेसको आगामी १४औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २१ गते बोलाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया