ओली र गौतमबिच बालुवाटारमा भेटवार्ता,दुबै अध्यक्ष मिलेर समाधान खोज्न सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आइतबार बालुवाटार पुगेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
भेटमा गौतमले सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावमा आफ्नो पनि योगदान रहेको प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।
‘प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गर्नुभएको प्रस्ताव हामी सचिवालयका पाँचै जना कमरेडहरुले मिलेर तयार गरेका हौं’ गौतमले प्रधानमन्त्री ओलीलाई भने, ‘यो प्रस्ताव तयार गर्नमा मेरो पनि योगदान छ । यो प्रचण्डले पेश गरे पनि यसमा प्रचण्डमात्रै होइन, पाँचैजना संलग्न छौं ।’
उपाध्यक्ष गौतमले बालुवाटार पुगेर सो प्रस्ताव प्रचण्डको मात्रै नभई पाँचै जना नेताहरुको साझा प्रस्ताव भएको प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।
शुक्रबार बसेको नेकपा सचिवालयको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि विभिन्न प्रवृत्तिगत आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए ।
उपाध्यक्ष गौतमसँगको भेटमा प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएको समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेका थिए । तर, गौतमले ‘यो समस्याको सर्जक तपाई आफैं हो भन्दै आफैं समाधान निकाल्न’सुझाएको बालुवाटार स्रोतले बतायो ।
यसैबीच,प्रधानमन्त्री ओलीले वामदेवलाई सरकारमा सहभागी हुन र मन्त्री बन्न प्रस्ताव गरेको चर्चा भए पनि उपाध्यक्ष गौतमले त्यसलाई अस्वीकार गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया