
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले भारत र चीन दुवै देशसँग नेपालको द्धिपक्षीय सम्बन्ध सुमधुर र सुदृढ रहेको स्पष्ट पारेका छन् ।
सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा भट्टराईले सरकारले देश र जनतालाई केन्द्रविन्दु र हितलाई सर्वोपरि राखेर छिमेकीहरुसँगको सम्बन्ध अघि बढाएको र अहिले भारत र चीन दुवै देशसँग नेपालको सम्बन्ध सही दिशामा अघि बढेको दाबी गरे ।
उनले मित्रराष्ट्र भारतसँग नेपालको लामो सहकार्य रहेको भन्दै आगामी दिनमा पनि द्धिपक्षीय सम्बन्ध झनै प्रगाढ बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
भट्टराईले भारतसँग सीमा विवादको समस्या रहेको उल्लेख गर्दै त्यसलाई पनि हल गर्नेगरि वर्तमान सरकारले काम अघि बढाएको बताए । फरक प्रसंगमा भट्टराईले आफ्नो पार्टीभित्रको आन्तरिक विवादलाई लिएर अहिलेको अवस्था आउनु नै दुःखद् भएको टिप्पणी गरे ।
साक्षात्कारमा कांग्रेस नेता भीमसेनदास प्रधानले नेपालले भारत र चीन दुवै देशसँग अधिकतम फाइदा हासिल गर्नेगरि सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिए । उनले सीमाका साथै देशका समस्याका रुपमा रहेको कोरोना संक्रमण रोकथामाका लागि राज्य गम्भीर हुनुपर्ने धारणा राखे । प्रधानले पार्टीभित्रको विवाद भने पार्टीको अधिवेशनको लागि भएको बताए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया