संसद् पुनर्स्थापना नभए कांग्रेसकै अस्तित्वमा संकट आउनसक्ने: कोइराला

काठमाडौं । प्रतिनिधिसभा विघटन पछिको सडकक आन्दोलन वा निर्वाचन अलमलमा परेको नेपाली कांग्रेसका केही नेताले धुलिखेलमा छुट्टै भेला राखेका छन् ।

डा.शेखर कोइरालाले केन्द्रीय कमिटीका आठ नेतासहित २७ माघमा धुलिखेलमा भेला राखेका छन् । योजनाबद्ध नभई आकस्मिक भनिएको त्यो भेलाले संसद् पुनर्स्थापना नभए कांग्रेसकै अस्तित्वमा संकट आउनसक्ने निष्कर्ष निकालेको छ ।

भेलामा सहभागी एक नेताका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउन र सत्ता हस्तान्तरण गर्न संसद विघटन गरेका होइनन्, तर यो तथ्य नबुझेझैं गरी सभापति शेरबहादुर देउवा प्रस्तुत भएको विषयमा समेत छलफल भएको छ ।

पार्टी सभापतिमा कञ्फ्युजन होला, त्यसैले पार्टी निर्णय विपरीत अर्थ लाग्ने गरी बोल्दै हिँड्नुभएको छ । तर उहाँ ब्युँझनुको विकल्प छैन’, ती नेताले भने, ‘पार्टी बैठकले संसद् विघटनलाई असंवैधानिक भनिसक्यो, असंवैधानिकलाई संवैधानिक बनाउन गलत कदमलाई सच्याउनुपर्छ भन्ने नै हो ।

भेलामा कोइराला, गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, जीवन परिवार, दीपक गिरी र बद्री पाण्डे सहभागी थिए । र, सर्वोच्च अदालतले संसद विघटनको विषयमा फैसला दिनुअघि नै संसद् पुनर्स्थापना हुने बातावरण बनाउनुपर्छ भन्नेमा सबैको समान धारणा थियो ।

छिमेकी रिझाउने र राष्ट्रपतिसहित संवैधानिक निकायलाई हातमा लिएर ओलीले संसद् विघटन गर्नुको पछाडि लामै योजना रहेको काँग्रेसले बुझ्नुपर्ने पनि भेलाले निष्कर्ष निकालेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया