प्रचण्ड-नेपाल समूहद्वारा सात जना नेतामाथि कारबाही

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले सुवास नेम्वाङसहित सात जना नेतालाई कारबाही गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यहरू सुवास नेम्वाङ, शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्ण थापालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बैठकले पार्टी आचरण विपरित काम गरेको भन्दै उनीहरूलाई कारबाही गरेको हो ।

यस्तै बैठकले संसदीय दलको नेताबाट केपी ओली, उपनेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । यसअघि आजै बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेता, उपनेता र सचेतक फेर्ने एजेन्डा केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको थियो।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने निर्णय गरेको थियो।

फेसबुकबाट तपाइको प्रतिक्रिया