नेपाललाई थ्री नेसन्स कप फुटबलको उपाधि, बंगलादेशलाई २-१ ले पराजित

काठमाडौं । नेपालले थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार दशरथ रङ्गशालामा भएको फाइनलमा बंगलादेशलाई २/१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि खेलको १८ औं मिनेटमा संजोग राईले तथा ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २ शून्यले अग्रता दिलाएका थिए । तर खेलको ८३ औं मिनेटमा बंगलादेशले एक गोल फर्काएको थियो ।

नेपालले ३७ वर्षपछि बंगलादेशलाई दशरथ रङ्गशालामा फाइनलमा पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा संजोग म्यान अफ द फाइनल बन्न सफल भएका छन् ।

यो जितसँगै नेपालले पछिल्लो अन्तर्राष्ट्रिय सात खेलमा गर्न नसकेको गोलको खडेरीसमेत पुरिएको छ । जितसँगै नेपालले ट्रफीसहित पाँच हजार अमेरिकी डलर जितेको छ । विजेतालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार वितरण गरे । यसै खेलबाट नेपालका सर्वाधिक सफल कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् ।

किर्गिस्तानको २३ वर्ष मुनिको टिमसमेत सहभागी प्रतियोगितामा बंगलादेश ४ अंकसहित लिगको विजेता बन्दै र नेपाल २ अंकसहित उपविजेता बन्दै फाइनलमा पुगेको थियो । नेपालले दुबै टिमसँग गोलरहित बराबरी खेलेको थियो भने बंगलादेशले किर्गिस्तानलाई एक शून्यले हराएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया