प्रतिगमनतिरको यात्रा रोक्न लोकतन्त्र पक्षधर एकजुट हुनुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनतिरको यात्रा रोक्न सबैलाई एकजुट हुनुपर्ने बेला आएको बताएका छन् ।

शुक्रबार माणिकलाल श्रेष्ठको श्रद्धाञ्जलि कार्यक्रममा अध्यक्ष प्रचण्डले पुस पाँचमा संसद विघटनबाट सुरु भएको प्रतिगमनतिरको यात्रा जारी रहेकाले त्यसलाई रोक्न फेरि लोकतन्त्र पक्षधर शक्तिहरु एकजुट हुनुपर्ने बेला आएको बताएका हुन् ।

उनले प्रतिगमनतिरको यात्रालाई रोक्न सकेमात्र माणिकलालप्रति सच्चा सम्मान हुने बताए । उनले कम्युनिष्ट नेतृत्वको सरकार अपरादर्शी देखिनु दुःखद पक्ष भएको भन्दै अध्यक्ष प्रचण्डले कम्युनिष्टहरुको एकता र उनीहरुप्रति जनताको भरोसालाई टुट्न दिन नहुने बताए । उनले संविधान, विधि विधान नमानी सेटिङका भरमा काम हुन लागेको बताए ।

उनले भने, ‘अहिले परिवर्तनबाट जनताले पाएका उपलब्धिमाथि निर्मम प्रहार गर्ने षड्यन्त्र भएको छ । लोकतन्त्रका मूल्यमान्यता, शहिदको रगतलाई अपमान गर्ने र समाजलाई निरंकुशतर्फ चरम फासीवादी निरंकुशता लाद्ने प्रयास भइरहेको छ । पुस ५ मा संसद विघटन गर्ने सरकारकातर्फबाट गरियो । जनता विरोधमा गए र लिकमा आयो । तर षड्यन्त्रकारीको अवसान भएको छैन । संवैधानिक निकायका प्रमुखहरुसँग सेटिङ गरेर निरंकुशता लाद्न खोजिदैछ । यो विचित्र अवस्थामा हामी छौं । किनकी विधिविधान नमान्ने संविधान विपरितका काम भइरहेका छन् ।’ उनले जरुरी परे फेरि एकचोटी आन्दोलनमा जाने संकल्प गर्नुपर्ने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया