
काठमाडौं । सरकारले तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १२० अभियुक्तका मुद्दा फिर्ता लिएको छ । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी रहेको बुधबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
सरकारले नेपाल सरकार वादी भई चलाएका मुद्दा फिर्ता लिने सम्बन्धि निर्देशिका, २०७७ अनुसार मुद्दा फिर्ता लिने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए । जनता समाजवादी पार्टीले उठाउँदै आएका मागलाई सम्बोधन गर्ने क्रममा ती मुद्दा फिर्ता लिइएको र आगामी दिनमा पनि बाँकी मुद्दा फिर्ताको चरणमा रहेको उनको भनाई छ ।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपासँग सम्बन्धित बन्दीलाई पनि रिहाइ गर्नेबारे निर्णय हुने गुरुङले जनाए । जसपाले २ सय ८ जना बन्दीलाई रिहाइ गर्नका लागि सरकारसँग वार्ता गरिरहेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया