काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने उनको चेतावनी छ ।
सहमतिको प्रयासमा आइतबार भएको वार्ता असफल भएपछि नेपाल समूहको बैठकले २ जेठ २०७५ मा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्म पर्खिने निर्णय गरेको थियो ।
बैठक लगत्तै वरिष्ठ नेता नेपालले २३ फागुनयता भएका कमजोरी औंल्याउँदै अध्यक्ष ओलीलाई पत्र नै पठाएका छन् र पार्टी एकता कायमै राख्न नेपालले आग्रह गरेका छन् ।
पत्रमा अदालतको फैसला विपरीत महाधिवेशन आयोजक कमिटी गठन, एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटी खारेज, ३० सांसदलाई स्पष्टीकरण पत्र र चार जनालाई कारबाही गरिनुु गल्ती भएको औंल्याइएको छ । ओलीबाट भएका गल्तीहरु सच्याउन आग्रह गर्दा त्यसको सुनुवाइ नभएको पनि नेपालले पत्रमा उल्लेख गरेका छन् ।
विश्वासको मत लिने सन्दर्भमा पनि अन्य दलहरुसँग छलफल गर्ने, तर आफ्नै पार्टीभित्र भने शत्रुवत् व्यवहार गरिएको नेता नेपालको गुनासो छ । आइतबार प्रधानमन्त्री ओलीले जारी गरेको अपीलप्रति नेता नेपालले आपत्ति जनाएका छन् । ‘तपाइँले आफ्नो पार्टीको सिद्धान्त, विधान र नीति विरोधी क्रियाकलापहरुमा पर्दा हाल्न अरुमाथि प्रहार गर्नुभएको छ’, वक्तव्यमा उल्लेख छ ।
नेता नेपालले पठाएको पत्रमा पार्टी एकता कायम राख्न ६ बुँदे प्रस्ताव पनि पठाएका छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया