नेपाल सुपर लिग : काठमाडौंले जित्यो उपाधिसँगै नगद ३५ लाख

काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाडौंले पहिलो संस्करणको एनएसएलको उपाधि जितेको हो ।
काठमाडौंका लागि क्यामरुनी खेलाडी मेसोउके ओलोमोउले एक मात्र गोल गरे । यो जितपछि काठमाडौंले धनगढीसँग यसअघि बेहोरेको दुई हारको बदला समेत लिएको छ । यसअघि लिग चरणमा धनगढीले काठमाडौंलाई ३–० ले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा धनगढीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै काठमाडौंलाई २–१ ले हराएको थियो ।
दशरथ रंगशालामा खेलको २१औं मिनेटमा मेसोउके ओलोमोउले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए । धनगढीका विशाल राईबाट विश्वास श्रेष्ठले बल खोस्दै दिएको पासमा मेसोउकेले धनगढीका दुई डिफेण्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरे ।
धनगढीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले रोक्ने कुनै अवसर पाएनन् । पहिलो हाफमा पाएको एक मात्र अवसरमा काठमाडौंले गोल गर्दै अग्रता लिएको थियो । दोस्रो हाफ प्रतिस्पर्धात्मक बनेको थियो । दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।
दोस्रो हाफको सुरुमै धनगढीले बराबरी गर्ने अवसर गुमायो । ४७औं मिनेटमा सिक्स यार्ड बक्समा प्राप्त बलमा धनगढीका बुद्ध बल तामाङको प्रहार गोलकिपर विकेश कुथु बिट भइसकेको अवस्थामा डिफेण्डर फ्लोरेन्ट क्वाराले गोललाइनभन्दा केही अघिबाट बचाए ।
त्यसपछि पुजन उपरकोटी र मार्की प्लेअर विशाल राईले पनि गोलको अवसर गुमाए । ५५औं मिनेटमा धनगढीका अशोक खवासको प्रहार काठमाडौंका गोलकिपर विकेशले क्रस बार माथिबाट बाहिर पठाएका थिए ।
६५औं मिनेटमा काठमाडौंका स्टेफेन विनोङले पेनाल्टी एरियाभित्रबाट प्रहार गरेको बल धनगढीका गोलकिपर किरण चेम्जोङको हातमा लाग्दै बाहिर गयो ।८८औं मिनेटमा पुजन उपरकोटीको प्रहार क्रस बारको केही माथिबाट बाहिरिंदा धनगढीले अर्को अवसर गुमायो ।
८९औं मिनेटमा काठमाडौंका स्टेफेन विनोङ समिरले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार धनगढीका गोलकिपर किरण चेम्जोङको हातमा लाग्दै बाहिरियो । इन्जुरी समयमा धनगढीले बराबरीका लागि सबै शक्ति लगाएपनि गोल फर्काउन सकेन ।

च्याम्पियन काठमाडौंले उपाधिसँगै नगद ३५ लाख पक्का गर्दा धनगढीले १५ लाख रुपैयाँ पाउनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया