‘अब कोरोना संक्रमण र मृत्युदर घट्दै जान्छ’ -डा. पुन

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विषेशज्ञ डाक्टर शेरबहादुर पुनले अब क्रमशः कोरोना संक्रमण दर घट्दै जाने बताउनुभएको छ । काठमाडौं उपत्यकामा यतिबेला कोरोना भाइरसको दर उच्च विन्दुमा पुगेको तर अबका दिनमा संक्रमण घट्ने उहाँको भनाइ छ । निषेधाज्ञा अगाडिको भीडभाड र जमघटका कारण कोरोना भाइरसको संक्रमण दर अहिले उच्च भएको तर अहिले निषेधाज्ञा जारी रहेकाले कोरोना संक्रमण दर घट्दै जाने उहाँको ठहर छ ।उहाँले भन्नुभयो, ‘अहिले कोरोना संक्रमण दरलाई अधिकतम विन्दु मान्न सकिन्छ, निषेधाज्ञाअगाडि मानिसहरु मिसमास भए। भीडभाड र जमघट भयो, त्यसैले कोरोना संक्रमणको दर उच्च भएको हो । उहाँहरुले घरघरमा लगेर संक्रमण थप बढाउनुभयो । त्यही कारण कोरोनाले अहिले क्षमता प्रदर्शन गरिहेको हो । तर अब निषेधाज्ञा जारी छ र संक्रमण दर घट्दै जानेछ ।’ अहिले निषेधाज्ञाका कारण सामाजिक सम्पर्क नहुँदा पनि बढ्नुलाई पहिल्यैको गतिविधिसँग जोडेर हेर्नु पर्ने उहाँको भनाइ छ । पहिले सुरुवाति समयमै तरिका नपुगेका कारण अहिलेको यो अवस्था भोग्नु परेको बताउदै उहाँले अहिले भने हेर्नु बाहेक अन्य विकल्प नहुने उहाँको भनाइ छ ।
एक दिन, दुई दिनको संक्रमण दरको तथ्याङ्क तलमाथि हुँदा त्यति फरक नपर्ने उहाँको भनाइ छ । दुई हप्तादेखि माथिको लामो समयावधि हेरेर तथ्याङ्क मानेर औसतमा हेर्दा त्यति फरक नदेखिएकोले तत्काल कोरोना संक्रमण अब तीव्र बृद्धि हुने सम्भावना नभएको उहाँले बताउनुभयो । यद्यपि निषेधाज्ञालाई कडाइ नगरे अवस्था यही हुन्छ भन्न नसकिने उहाँको भनाइ छ । अहिले परीक्षण गरिएकामा औषतमा ४० देखि ४५ प्रतिशत मात्रै कोरोना संक्रमित दर रहेको उहाँको भनाइ छ ।

संक्रमितमध्ये २ प्रतिशतको मृत्यु

डा पुनले अहिले नेपालमा संक्रमितमध्ये २ प्रतिशतको मृत्यु हुने गरेको बताउनुभयो । संक्रमितको अनुपात यस्तै स्थिर रहेमा मृत्युदर पनि घट्न सक्ने डाक्टर पुनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संक्रमितको दर अहिले स्थिर छ । यसलाई राम्रो भन्न सकिन्छ । मृत्युदर पनि करिब(करिब २ प्रतिशत छ । धेरै परिवारका सदस्य संक्रमित भइसक्नुभएको छ । तर स्ट्रिक्ली यसरी नै गरियो भने त्यो पनि घट्न सक्छ । अब संक्रमित हुने ठाउँ त्यति छैन।’

फेसबुकबाट तपाइको प्रतिक्रिया