
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ)ले नेपालमा कोरोना भाइरसको कुनै नयाँ भेरियन्ट पुष्टि नभएको बताएको छ । बेलायतबाट प्रकाशित हुने पत्रिका डेली मेलले बुधबारको अङ्कमा कोरोना भाइरसको ‘नेपाल भेरियन्ट’ भनेर समाचार प्रकाशनगरेपछि डब्ल्यूएचओले कोरोनाभाइरस (सार्स–कोभ–२)को नयाँ स्वरुप फेला परेको सम्बन्धमा कुनै जानकारी नभएको बताएको हो ।
डेली मेलले आफ्नो जुन २ को अङ्कमा ‘नेपाल भेरिएन्ट थ्रेट टु आवर होलीडे’ शीर्षक राखेर कभर स्टोरी प्रकाशन गरेको थियो । बीबीसीले भने उक्त समाचारलाई ट्वीट गरेको थियो । कोरोनाभाइरसको नेपाली स्वरुपलाई लिएर बिदामा जान जोखिम उत्पन्न हुने आशयसहितको उक्त समाचार डेली मेलले प्रकाशन गरेको थियो । विश्व स्वास्थ्य सङ्गठनले भने नेपालमा अल्फा, डेल्टा र कप्पा गरी तीन स्वरुप मात्रै पुष्टि भएको जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले बी.१.१.७ लाई अल्फा, बी.१.६१७.२ लाई डेल्टा र बी.१.६१७.१ लाई कप्पा नामाकरण गरेको छ । कोरोनाको तीन वटा स्वरुपमध्ये नेपालमा हाल डेल्टा(बी.१.६१७.२) स्वरुप तीब्र रुपमा फैलिएको छ । कोरोनाको डेल्टा स्वरुप बेलायतबाट भारत भित्रिएको स्वरुप उत्परिवर्तन भएर नयाँ स्वरुप ग्रहण गरेको हो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया