वागमती प्रदेशले बाढीपहिरो प्रभावितलाई उद्धार र खाद्यान्न उपलब्ध गराइने

काठमाडौं। वागमती प्रदेश विपद् व्यवस्थापन तथा उद्दार निर्देशक समितिको आजको बैठकले प्रदेशको १३ वटै जिल्लामा बाढीपहिरोबाट प्रभावित परिवारको उद्दार, उपचार र राहत कोषको लागि रु १० करोड प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा यथाशिघ्र उपलब्ध गराइदिन माग
गर्ने निर्णय गरेको छ ।

समितिका अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले हिजो राति प्रदेशको सिन्धुपाल्चोक जिल्लामा गएको बाढीबाट भएको धनजनको क्षतिप्रति दुःख प्रकट गर्दै प्रदेश सरकारकोतर्फबाट पीडित परिवारलाई तत्काल खाद्यान्न सामग्रीहरु जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गर्न निर्देशनसहित रकम उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी सो बैठकले कोभिड अस्पताललाई गुणस्तरीय उपचार सेवा वृद्धि गर्न आर्थिक अनुदान उपलब्ध गराउने सिलसिलामा दोलखाको स्मृति कोभिड अस्पताललाई रु २० लाख, नुवाकोट कोभिड अस्पताललाई रु ३० लाख, भक्तपुरको कोभिड अस्पताललाई रु ३५ लाख र मनमोहन स्मृति कोभिड अस्पताल काठमाडौंलाई रु ५५ लाख यथाशिघ्र उपलब्ध गराउने निर्णय गरेको छ ।

सोही बैठकले धादिङ, नुवाकोट, रुसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लालाई बाढीपहिरोबाट पीडित परिवारलाई तत्काल उद्दार गर्ने कार्यलाई सहजीकरण गर्न विपद् व्यवस्थापनको सामाग्रीहरु जिल्ला प्रहरी कार्यालयलाई यथाशिध्र उपलब्ध गराउने निर्णय गरिएको समितिका सूचना अधिकारी सुरेन्द्र कार्कीले बताउनुभएको छ । बैठकले प्रदेशको १३ वटै जिल्ला प्रशासनलाई तत्काल बाढीपहिरोबाट प्रभावितको उद्दार गर्ने कार्यको लागि सुरक्षा निकाय, जिल्ला समन्वय समिति र रेडक्रसहरुलाई सर्तक राखी अघि बढाउने निर्देशन दिएको पनि उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया