नेपालमा कोरोना भाइरसको संक्रमणाबाट मुक्त हुनेको संख्या ६ लाख नाघेको छ ।
बिहिबार चार हजार १७ जना संक्रमणमुक्त भएसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख एक सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो केही दिनयता कोरोना संक्रमणमुक्त हुनेहरू बढेसँगै सक्रिय संक्रमितको संख्या भने घटेर ३१ हजार तीन सय ६८ मा झरेको छ । अहिले निको हुने दर ९३ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यस्तै बिहिबार दुई हजार सात सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार एक सय ३० नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार आठ सय ५७ र तीन हजार आठ सय ५५ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय तीन जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
बिहीवार पुष्टि भएकामध्ये काठमाडौंमा ३१६ जना छन् भने ललितपुर ७४ र भक्तपुरका २९ जना रहेका छन्। योसँगै देशभर संक्रमितको संख्या ६ लाख ४० हजार ६६२ पुगेको छ । यस्तै थप ३३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या नौ हजार एक सय ४५ पुगेको छ । अहिले देशभरिका १७ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित छन् भने थप २७ जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। अहिले ६२९ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १८१ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया