सकेसम्म सन् २०२१ भित्र सबै नेपालीलाई खोप लगाउछौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप नपाएर तड्पिनुपर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । आइतबार बिहान वीर अस्पतालको सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब नियमित रुपमा खोप ल्याइने र सबै जनतालाई लगाउने बताएका हुन् ।

उनले जनताको जीवन रक्षा सरकारको पहिलो कर्तव्य भएकाले त्यसैअनुरुप सरकार अघि बढेको पनि बताए । उनले भने, ‘हामी सन् २०२१ भित्र सबै नेपालीलाई खोप लगाइसक्ने तयारीमा छौं । केही बाँकी रह्यो भने पनि केही समय लाग्ला तर अब खोपको अभावबाट तड्पिन पर्दैन ।’

उनले आम नागरिकलाई लापरबाही नगरी सजगता अपनाउन आग्रह गरे । उनले भने,‘ अब लापरबाही बढाउने होइन, लापरबाही गर्ने होइन, सजगता कायम गर्ने हो । नेपाली जनताको जीवन रक्षा गर्ने सरकारको प्राथमिकता हो ।’

उक्त भवन २०७४ साल फागुनमा प्रधानमन्त्री ओलीबाट शिलान्यास भएको थियो। समयभित्रै भवन निर्माण गरेकोमा शर्मा निर्माण कम्पनीलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिएका छन् । यस भवनमा कोरोना संक्रमितलाई राखेर उपचार यसअघिदेखि नै सुरू भइसकेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया