चीनले नेपाललाई अझै खोप सहयोग गर्ने

काठमाडौँ । चीनले नेपाललाई थप खोप सहयोग गर्ने प्रद्धिबद्धता जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार भर्चुअल पत्रकार सम्मेलन गरी नेपाललाई चीनले अझै खोप सहयोग गर्ने बताएकी हुन् ।

चीनले नेपाललाई अहिलेसम्म १८ लाख अनुदान सहयोग गरेको छ । त्यस्तै सरकारले चीनसँग ४० लाख डोज खोप खरिद गरेको छ । राजदूत होउले नेपालको खोप अभियानमा सहयोगअन्तर्गत खरिद गरेको ४० लाख खोपमध्ये पहिलो लटको खोप नेपाल आइसकेको उल्लेख गरिन् ।

उनले चीनले अहिले १० वटा कोभिड–१९ खोप उत्पादन गरेको र त्यसमध्ये दुई वटा खोपलाई अहिलेसम्म विश्व स्वास्थ्य संगठनले मान्यता दिएको बताइन् । नेपालमा भने अहिलेसम्म सिनोफार्मको भेरोसेल खोप ल्याइएको छ ।

उनले कोभिड–१९ को सुरुवातमा नेपालले चीनलाई सहयोग गरेको पनि स्मरण गरिन् । नेपालले चीनमा सुरुवातमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सन् २०२० को फेब्रुअरी ७ मा एक लाख मास्क सहयोग गरेको थियो । खोप सहकार्यअन्तर्गत विश्वका एक सय मुलुकलाई सहयोग गर्दै आइरहेको उल्लेख गर्दै उनले सबै मुलुकहरुसँग यही अन्तर्राष्ट्रिय प्रक्रियाअनुसार काम भइरहेको छ र चीन–नेपालबीचको खोप सहकार्यअनुसार खोप ल्याइएको बताइन् ।

राजदूत होउले नेपालतर्फका तातोपानी र रसुवागढी भन्सार नाकाका समस्याहरु राजनीतिक नभएर प्राविधिक भएको बताइन् । उनले तिब्बतको भूबनोट र त्यहाँ हुने अक्सिजनको समस्याका कारण पनि नाकामा कडाइ रहेको उल्लेख गरिन् । उनले तातोपानीमा दैनिक १० वटा ट्रक आउने गरेको र रसुवागढीमा नेपाली क्षेत्रमा कम स्थान भएको कारणले गर्दा आयातमा केही समस्या भएको जानकारी आएको बताइन् ।

उनले कोरोनाका कारण समस्या आएको भन्दै कोरोना सकिएपछि फेरि पूर्ण रुपमा काम हुने बताइन् । उनले विश्वका विकासोन्मुख मुलुकहरुमा खोप सहयोग गरेर जनताको जीवनरक्षा गर्ने र मुलुकको अर्थतन्त्रलाई उकास्नका लागि सहयोग गर्ने पनि बताइन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: