काठमाडौं । विपक्षी गठबन्धनले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भन्दै सर्वोच्च अदालतलाई धन्यवाद दिएको छ । सोमबार बसेको पाँच दलीय विपक्षी गठबन्धनको बैठकले लोकतन्त्र, संविधान र संसदको रक्षा गर्ने सवालमा अदालतको फैसला ऐतिहासिक र महत्वपूर्ण भएको भन्दै स्वागत गरेको छ । फैसलाले संविधानको रक्षा गरेकाले अदालतको ऐतिहासिक निर्णय सबै नागरिकको विजय भएको निष्कर्ष पनि गठबन्धनले निकालेको छ ।
बैठकपछि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण बैठकमा संविधान, लोकतन्त्र र संसदको रक्षाका लागि सर्वोच्चले गरेको आदेश ऐतिहासिक भएको भन्दै स्वागत गरिएको र यसमा सहयोग पुर्याउनेलाई धन्यवाद पनि दिएको बताए । त्यसैगरी पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने र सबै दलहरु मिलेर अघि बढ्ने बारे छलफल भएको उनले बताए ।
उनले भने, ‘ट्रयाक बाहिर गएको लोकतान्त्रिक मूल्यमान्यता माथि प्रहार भएकोमा अहिले ट्रयाकमा आएको छ । सरकार निर्माण गर्ने कुरामा, प्रारम्भमा सानो मन्त्रिमण्डल गठन गर्ने र दलहरुकोबीचमा सहमति र सहकार्यलाई अगाडि बढाउँदै लैजाने र मिलेरै सरकार बनाउनुपर्ने र मिलेरै सरकार चलाउनुपर्ने अहिलेको सान्र्दभिकताका बारेमा छलफल भएको छ । मंगलबार बिहान फेरि पार्टीका शीर्ष नेताहरु बैठक बस्नुहुनेछ । ’
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले बैठकमा दलीय प्रणालीका आधारमा सहमति र सहकार्य गर्दै संविधानले मार्गचित्र गरे अनुसार अगाडि बढ्ने बारेमा छलफल भएको बताए । लोकतन्त्रको रक्षा, संविधानको रक्षा, गणतन्त्र र नागरिक अधिकारको रक्षाका लागि आएको फैसलाको स्वागत गर्दे सबैलाई आभार प्रकट गरिएको बताए ।
सरकार गठन एकलौटी ढंगले नचलाई सबै राजनीतिक दलहरुसंग सल्लाह गरेर फराकिलो ढंगले सरकार बनाई एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्नेमा नै सबैले जोड दिएको उनले बताए ।
नेकपा एमालेका नेता रघुजी पन्तले सर्वोच्चको आदेशसँगै नयाँ परिस्थिति श्रृजना भएको भन्दै परिवर्तित अवस्था बुझ्न नेताहरुलाई आग्रह गरेको बताए । एकलौटी र एकपक्षीय ढंगले चल्ने कुराको सधै विपक्षमा रहँदै आएको भन्दै सबैलाई समेटेर अगाडि बढ्न र एकलौटी ढंगले नचल्न आग्रह गरेको उनले बताए ।
उनले गठबन्धनमा आफूहरुको निरन्तरता नरहन सक्ने बताए । उनले भने,‘पहिला पार्टीलाई एकतावद्ध बनाउछौं र त्यसपछि सिंगो मुलुकको राजनीतिमा । गठबन्धनलाई पार्टीले अलपत्र पारेको छैन । हस्ताक्षर फिर्ता नलिने कुरा सर्वोच्च अदालतको फैसला नहुन्जेलसम्मका लागि मात्रै हो । अब पार्टीले जे भन्छ त्यही गर्छौं। सिंगो एमालेलाई एकतावद्ध बनाउने हाम्रो प्रयास हो ।’
जनता समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले सर्वोच्चले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई सही बाटोमा ल्याउने काम गरेको बताए । उनले देउवाको नेतृत्वमा सरकार बनाउन लागि पर्ने र गठबन्धनको सरकारलाई प्रभावकारी कसरी बनाउने भन्नेबारेमा पनि तयारी गरेर सहमति कायम गरि अघि बढ्ने बारे गठबन्धनमा छलफल भएको बताए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया