बाढीमा परी जर्मनी र बेल्जियममा गरी कम्तीमा ७० को मृत्यु

अत्यधिक वर्षाका कारण जर्मनी र बेल्जियमका नदीहरूको बहाव बढेसँगै कम्तीमा ७० जनाको मृत्यु भएको छ । धेरैको क्षति जर्मनीमा भएको छ । बेल्जियममा भने कम्तीमा ११ जनाको मृत्यु भएको छ भने हराइरहेका मानिसहरूको सङ्ख्या धेरै छ ।

जर्मनीको राइनल्यान्ड पलाटि–नट र नर्थ राइन वेस्ट–फेलिया प्रान्तले बाढीको सबैभन्दा भयावह मार खेप्नुपरेको बताइएको छ। नेदरल्याण्डसमा पनि व्यापक प्रभाव परेको छ । शुक्रवार उक्त क्षेत्रमा झन् धेरै पानी पर्ने पूर्वानुमान गरिएको छ । अधिकारीहरूले जलवायु परिवर्तनका कारण विपद्को पछिल्लो घटना भएको बताइरहेका छन् ।

विज्ञहरूले जलवायु परिवर्तनका कारण मौसमको कठोर प्रभावका घटना तीव्र रूपमा दोहरिरहने ठानिएको तर कुनै एक्लो घटनालाई त्यससँग जोड्नु जटिल भएको बताएका छन् । नर्थ राइन वेस्ट–फेलियाका प्रमुख आर्मिन लशेटले अति प्रभावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिएका छन् ।

हाल अमेरिका भ्रमणका क्रममा रहेकी जर्मनीकी चान्सलर एंगेला मर्केलले राष्ट्रपति जो बाइडनसँग भेट गर्नुअघि उक्त बाढीलाई विपद्को संज्ञा दिएकी छन् । जर्मनीका प्रभावित क्षेत्रहरूमा फसेकाहरूको उद्धार गर्नका लागि प्रहरीको हेलिकोप्टर र सयौँ सेना परिचालन गरिएको छ । दर्जनौँ मानिसहरूले छतमा उद्धारकर्ताहरूको प्रतीक्षा गरेका थिए ।

पश्चिमी जर्मनीमा विद्यालयहरू बन्द गरिएका छन् भने यातायात सञ्जालमा व्यापक प्रभाव परेको छ । पहाडी आइफेल क्षेत्रमा २५ वटा घरहरू ढल्ने खतरामा रहेका जर्मन प्रसारक एसडब्ल्यूआरले जनाएको छ । उसका अनुसार केही घरहरू पूर्ण रूपमा सम्पर्कभन्दा बाहिर पुगेका छन् र ढुङ्गाबाट समेत पुग्न नसकिने अवस्था सिर्जना भएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया