पूर्वसभामुख महराले उच्च अदालतबाट पनि पाए सफाइ

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले करणी उद्योग मुद्दामा सफाइ दिएको छ । मंगलबार उच्च अदालत पाटनले महराविरुद्धको मुद्दाको सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले यसअघि गरेको फैसलालाई सदर गरेको उच्च अदालत पाटनका रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले जानकारी दिएका छन् ।

न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो । उच्च अदालतमा महराविरुद्ध २०७७ पुस १७ मा रिट परेको थियो ।

जिल्ला अदालत काठमाडौको फैसलामा चित्त नबुझेपछि सरकारी वकिलको कार्यालयले पुनरावेदनका लागि उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो । उक्त आरोपपछि २०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिएका थिए भने असोज १९ गते उनी सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया