सरकारले ओली बालुवाटारबाट बालकोटको बार्दलीमा पुगेको नभुलोस्ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले नयाँ सरकारलाई केपी ओली सरकारलाई जस्तो कुनै पनि अपराध गर्ने छुट नभएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद थापाले ओलीले जस्तै स्वेच्छाचारी गतिविधि नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराएका हुन् । उनले आफ्नो स्वेच्छाचारी र प्रतिगामी कदमका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बार्दलीमा पुगेकोतर्फ नयाँ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने, ‘जनताको आदेशविपरीत मनपरी गर्दा, स्वेच्छाचारी कदम चालेर प्रतिगमन गरिरहँदा ओली अहिले बालुवाटारबाट बार्दलीमा पुगेका छन् । यो सरकारलाई ओलीको जस्तो मनपरी गर्ने छुट छैन। प्रधानमन्त्री देउवाले त्यसो गर्न पाउनु हुनेछैन। सरकार यो संसदसँग डराउनुपर्छ। संसद सरकारसँग डराउने होइन।’ थापाले प्रधानमन्त्रीको मात्रै नभएर सभामुखको पनि परीक्षणको समय रहेको बताए ।

उनले भने, ‘अहिलेको परीक्षा प्रधानमन्त्रीको मात्रै होइन सभामुखको पनि हुँदैछ । सभामुख र हाम्रो कर्मले संसदप्रति गुमेको विश्वास जगाउनु छ। सरकारले पनि ओलीको जस्तो गल्ती नगरोस्।’

फेसबुकबाट तपाइको प्रतिक्रिया