भारतको हेपाहा व्यवहार र उत्पीडन सैह्य नहुने नारायणकाजीको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दार्चुला घटनाको सम्बन्धमा भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्ने बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठलले छानविन प्रतिवेदन चाँडो ल्याएर भारत समक्ष गम्भीर आपत्ति जनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले केही दिन अघिमात्र महाकाली नदीमा तुइन तर्दै गर्दा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा भारतीय एसएसबीको संलग्नता रहेको बताए । उनले भने,‘अहिलेसम्मका तथ्यबाट के स्पष्ट हुन्छ भने भारतीय सीमा सुरक्षा बलका व्यक्तिहरुकै कारण तुइन काटिदिएकै कारणबाट धामी महाकाली नदीमा बेपत्ता भएका हुन् । म क्रुर, अमानवीय यस्तो कार्यको घोर भर्त्सना गर्दछु र दोषीमाथि कडा कारवाही गर्न माग गर्दछु ।’

उनले भारतको हेपाहा व्यवहार र उत्पीडन सैह्य नहुने चेतावनी पनि दिए । उनले यसबारे भारत सरकारसँग गम्भीर आपत्ति प्रकट गर्न ढिलो भएको बताए । उनले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनसमेत माग गरेका छन् । उनले मानवता विरोधी कार्यले नेपाली जनताको धैर्यताको बाँध भत्किन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले आफूहरु भारतसँग असल सम्बन्ध राख्न चाहेको तर स्वाभिमानमाथिको हेपाहा व्यवहार नसहने चेतावनी दिए । उनले यसका लागि नेपाली जनता तयार रहेको बताए । उनले भारतलाई यसबारे क्षमायाचना गर्न र दोषीलाई कारबाही गर्न माग गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया