
एजेन्सी । अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनल मेस्सीले बार्सिलोना छोडेसँगै क्लबमा नम्बर १० खालि भएको छ । दशक भन्दा बढी समय मेस्सीले लगाएका जर्सी नम्बर १० अब कस्ले लगाउँछ भन्ने विषयमा समर्थकमा कौतुहलता जाग्न थालेको छ ।
फ्रेन्च क्लबसँग अनुबन्ध हुने प्रबल सम्भावना रहेका मेस्सीले पेरिस सेन्ट जर्मन(पिएसजी)मा नयाँ नम्बर लगाउने अनुमान गरिएको छ । हाल पिएसजीमा नेयमारले जर्सी नम्बर १० लगाइरहेका छन् । त्यसैले बर्सिलोनामा अब कसले लिनेछ त नम्बर १० ? जोएन गाम्पर ट्रफी अन्तर्गत युभेन्ट्सविरुद्व भएको खेलमा उक्त नम्बर कसैले लगाएनन् । सम्भवत आउने सिजनमा नम्बर १० कसैले लिनेछैनन् ।
यसै सिजन क्लबमा भित्रिएका मेम्फिस डिपे र सेर्जियो अग्वेरोले आ-आफ्नो नम्बर पाइसकेका छन् । डिपेले नम्बर ९ लिएका छन् जुन मार्टिन ब्राथवेटले गत सिजन लगाएका थिए । अग्वेरोले भने नम्बर १९ लिएका छन् । ब्राथवेटले नम्बर १२ लिएका छन्, जुन रुइ पुइगले लगाएका थिए । पुइगले भने नम्बर ६ लिएका छन् । यस्तै फ्रान्सिस्को ट्रिनकाओ लोनमा विल्भ्स पुगेपछि युवा खेलाडी फाटीले नम्बर १७ लिएका छन् ।
एनबिए, सिरी ए मा जस्तो ला लिगामा जर्सी नम्बर रिटायर गर्ने चलन छैन । विश्व फूटबलमा जर्सी नम्बर १० लाई निकै प्रतिष्ठित रुपमा लिएको छ । यसअघि बार्सिलोनाबाट रोमारियो, रोनाल्डिन्हो, डिएगो माराडोना, रिभाल्डो र मेस्सीले नम्बर १० लगाएका थिए ।
हालसम्म क-कसले लगाए त बार्सिलोनाबाट जर्सी नम्बर १० ?
- एन्जल कुएलार (१९९५-१९९६)
- गिओभान्नी (१९९६-१९९७)
- जारि लिटमानेन (१९९९-२०००)
- रिभाल्डो (२०००-२००२)
- जुआन रोमान रिकुएल्मे (२००२-२००३)
- रोनाल्डिन्हो (२००३-२००८)
- लियोनल मेस्सी (२००८-२०२१)
फेसबुकबाट तपाइको प्रतिक्रिया