प्रदेश १ को प्रदेशसभाको अधिवेशन अन्त्य, नामकरण टुङ्ग्याउन अझै सकस

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभाको चालु अधिवेशनबाटै प्रदेशको नामकरण टुङ्ग्याउन प्रस्ताव राखे पनि अन्ततः त्यस सम्बन्धमा प्रक्रिया नै अघि नबढाइ प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको छ ।
प्रदेश १ सरकारले सोमबार मन्त्रिपरिषदको बैठकमार्फत प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन साउन ३२ गते राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । योसँगै प्रदेशको नामकरणको चर्चा पनि सेलाउन पुगेको छ ।

प्रदेश सरकारले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग प्रदेशको नामकरणको विषयमा एक पटक समान्य छलफल गरेको थियो । तर, त्यसपछिका दिनमा भने यसबारे थप छलफल हुन सकेन । मुख्यमन्त्री राईले दलहरूसँगको सहमतिमा यही अधिवेशनबाट नामकरणको विषय टुङ्ग्याइने बताउँदै आएका थिए । गत जेठ ३० गते उनले प्रदेशसभा बैठकमा अचानक प्रदेशको नामकरण यही अधिवेशनबाट गरौँ भनेर दलहरूसमक्ष प्रस्ताव गरेका थिए ।

मुख्यमन्त्री राईले प्रदेशको नामकरणको विषय चाँडै टुङ्ग्याएर अगाडि बढ्ने बताउँदै आए पनि त्यसतर्फ ठोस पहल गरेको भने देखिएन । मुख्यमन्त्रीले प्रदेश नामकरणको विषय सार्वजनिक खपतका रुपमा मात्र घोषणा गरेको दलका नेताहरूको बुझाइ छ ।
नेपाली काँग्रेस संसदीय दलको नेता राजीव कोइरालाले भदौ १ गते १ बजेका लागि सभामुखले प्रदेशसभा बैठक आह्वान गरेको अवस्थामा सरकारले एकाएक अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसँग सिफारिस गर्नु दुर्भाग्यपूर्ण भएको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: