सर्लाही मानव निर्मित जेटबोट चल्न थाल्यो, नगरपालिकाले ताललाई व्यवस्थित गर्ने

काठमाडौं । सर्लाहीको वाग्मती नगरपालिका– १२ स्थित मानव निर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ । ताल निर्माणको कार्य पूर्णरुपमा नसकिए पनि असार १० गतेदेखि तालमा जेटबोट सञ्चालनमा ल्याइएको छ ।
पूर्वपश्चिम लोक मार्गदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ रहेको सो मानवनिर्मित तालमा ३५ सिटे जेटबोट सञ्चालनमा ल्याइएको छ ।

वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाका अनुसार मोटरबोट सञ्चालनमा आएदेखि सो ताल पर्यटकीय केन्द्र बनेको छ । यहाँ यो ताल हेर्न र जेटबोट चढ्न देशका विभिन्न ठाउँबाट दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

नगर प्रमुख थापाको विशेष पहलमा करिब १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको यस तालको गहिराइ ४५ फिट छ । गर्मीयाममा यहाँ मोटरबोट चढेर आनन्द लिन र मनोरञ्जनका लागि स्थानीय र वरपरका जिल्लाका पर्यटक यहाँ आउन थालेका छन् ।

बिदाको दिन परिवारसहित ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ आउने गरेको पाइन्छ । यस तालमा हंसराज प्रजातिको हाँस पालिएको छ र आगामी दिनमा माछापालन गरिने नगरपालिकाले योजना बनाएको छ । नगरपालिकाभित्रका करिब एक हजार २०० बेरोजगार युवालाई रोजगारी दिने योजनाका साथ तालको निर्माण शुरु गरिएको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिए । उनका अनुसार नगरको अर्थोपार्जनका लागि ताल महत्वपूर्ण स्रोत बन्न सक्छ ।

यस ताललाई व्यवस्थित गर्दै बगैँचा, पार्क र वनभोज स्थलका रुपमा पनि विकास गरिने योजना नगरपालिकाको छ । यहाँ मोटरबोट सवार भएर केही समय घुम्दा पोखराको फेवाताल जत्तिकै मनोरञ्जन प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोखरेलले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: