काबुल विमानस्थल नजिक गराइएको आत्मघाती बम बिस्फोट परी ९० बढीको मृत्यु

काठमाडौँ — अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कार्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको आत्मघाती बम विस्फोटमा परी ९० जना मारिएका छन् । मर्नेमा सर्वसाधारण तथा १३ अमेरिकी सैनिक रहेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार साँझ दुईवटा आत्मघाती बिस्फोट भएको थियो ।

रोयटर्सका अनुसार विमानस्थलको मुख्य प्रवेशद्वारको केही दायाँतर्फ रहेको अर्को गेट अगाडि बिस्फोट भएको हो भने अर्को बिस्फोट बेरोन होटल नजिक भए थियो । बिस्फोटका बारे अमेरिकाको पेन्टागनका प्रवक्ताले पनि पुष्टि गरेका छन् । अमेरिकालगायत पश्चिमा देश तथा अस्ट्रेलियाले समेत बिहीबार एक सूचना जारी गर्दै काबुल विमानस्थलमा सुरक्षा जोखिम रहेको बताउँदै आफ्ना नागरिकहरुलाई तत्काल विमानस्थल वरपर नजान आग्रह गरेको थियो ।

पछिल्लो केही दिन यता तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै देश छोड्न चाहने विदेशी तथा आमनागरिकको विमानस्थलमा भिड लाग्ने गरेको छ । अफगानिस्तान छोड्न चाहने आफ्ना नागरिकहरुको सुरक्षित उद्धारका लागि अमेरिका लगायत पश्चिमा देशहरुले सेनाको टुकडी नै काबुल विमानस्थलमा तैनाथ गरेको छ ।
तालिबानी नेतृत्वले अमेरिका लगायतका देशलाई आफ्ना नागरिकहरुको उद्धार गर्नका लागि अगस्ट ३१ तारिखसम्म अन्तिम समय तोकेको छ ।रोजगारीको सिलसिलामा अफगानिस्तान पुगेका सयौं नेपालीको पनि अन्य देशको सहयोगमा उद्धार भइरहेको छ भने सयौंको संख्यामा नेपालीहरु उद्धारको प्रतिक्षामा छन् । अफगानिस्तानसमेत हेर्ने जिम्मा पाएका भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्यले उद्धारका लागि बिहीबार काबुल विमानस्थल पुगेका केही नेपाली भने सुरक्षित स्थानमा रहेको ट्वीटमार्फत जानकारी दिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया