काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न थालियो

१६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति सँगै दुई हप्तादेखि थुप्रिएको काठमाडौंको फोहोर आजबाट उठाउन थालिएको छ।

काठमाडौं उपत्यकाबाट संकलित एक हजार दुई सय मेट्रिक टन फोहोर दैनिकरुपमा सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । तर बर्खाको बेला सिसडोलसम्म पुग्ने बाटो बिगि्रएको कारण देखाउँदै महानगरपालिकाले फोहोर नउठाउँदा शहर दुर्गन्धित बनेको छ।

सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने र टाइम कार्डको प्रयोग गरिने छ । साथै सिसडोलका विद्यालय र क्लबहरुमा खेलकुद सामग्रीको व्यवस्थापन गर्ने तथा सडकमा परेका जग्गाको मुआब्जाबारे छलफल गर्ने उल्लेख छ ।

महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार नियमित रुपमा पूर्णक्षमतामा फोहोर उठाउँदा पनि अहिलेसम्म जम्मा भएको फोहोर उठाइसक्न करिब एक महिना लाग्ने अनुमान छ । करिब १५० सवारीले नियमित रुपमा नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा फोहोर लैजान सकेमा ४ हप्तामा मात्रै शहरमा थुप्रिएका फोहोर उठाइसकिने छ । त्यसपछि मात्रै फोहोर उठाउने काम नियमित तालिकामा फर्किन सम्भव हुन्छ ।

काठमाडौं महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको हिजो बसेको बैठकले आजदेखि फोहोर उठाउने निर्णय गरेको थियो ।

हाल उपत्यकाभर ३० हजार टन फोहोर थुप्रिएको महानगरपालिकाको वातावरण विभागको अनुमान छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: