एमसिसीको विरोध : गठबन्धनकै विद्यार्थी सङ्गठनले जलायो गृहमन्त्री खाँणको पुत्ला

काठमाडौं । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विषयलाई लिएर पाँच दलीय सत्तारूढ गठबन्धनमा विवाद उत्पन्न भएको छ। सरकारले एमसिसी अगाडि बढाउन थालेपछि गठबन्धनमा सहभागी विद्यार्थीहरू आन्दोलित भएका हुन् ।
सोमबार दिउँसो अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा राजधानीको मीनभवनमा भेला भएका विद्यार्थीहरूले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएका छन् । सो क्रममा गृह मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति पनि जलाइएको थियो ।

प्रदर्शनको क्रममा विद्यार्थीहरूले एमसिसीको विरोधमा चर्को नारा लगाएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएपछि अनेरास्ववियू आक्रोशित बनेको हो । दार्चुला घटना र भारतीय हस्तक्षेपप्रति मौन सरकार मोदीको पुत्ला जलाउँदा चाहिँ कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको भन्दै पराजुलीले आक्रोश पोखे ।

सो क्रममा विद्यार्थीहरूले एमसीसीको समेत विरोध गरेका छन् । ‘एमसीसी मुर्दावाद’ लेखिएको प्लेकार्डसहित भेला भएका उनीहरूले सरकार र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया