नेकपा एस प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन

विराटनगर । नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् ।
सोमबार बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो । एमाले विभाजन भएसँगै निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी रोजेका १० प्रदेश सभा सदस्यलाई मान्यता दिएसँगै सो पार्टीको दलको बैठक बसी संसदीय दलको नेतामा राईलाई चयन गरिएको हो ।

‘बैठकबाट हामीले राजेन्द्रजीलाई दलको नेता चयन गरेका छौं’, समाजवादीका अर्का सांसद राजन राईले भने, ‘आज प्रदेशसभामा दलको नेता चयन र भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारीसहितको पत्र पठाउने छौं ।’

प्रदेशसभा सदस्यहरुले नेकपा एकीकृत समाजवादीको पक्षमा गरेको सनाखत शुक्रबार निर्वाचन आयोगले सदर गरेको थियो । राजेन्द्र राईसहिहत राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेपछि एमालेले प्रदेशसभामा बहुमत गुमाएको छ।

बहुमत प्राप्त दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा परिसकेकाले अब असोज ९ गतेभित्र उनले विश्वासको मत लिनुपर्छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया