काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको शेरबहादुर देउवाले आफूले शपथ लिएको ७० दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार नगरेर देशको बहुमूल्य समय बर्बाद गरेको बताएका छन् ।
मंगलबार मदन भण्डारीको जीवनमा आधारित पुस्तक ‘श्वेतशार्दूल’ सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले ७० दिनसम्म पनि सरकारलाई पूर्णता दिन नसक्नु मुलुकका लागि दूर्भाग्य भएको बताएका हुन् ।
उनले भने, ‘७० दिनमा सरकारको कामकाजको ढाँचा खै त ? सरकारलाई पूर्णता दिन सकेको छैन। सरकारले जनतामा निराशा थप्ने काम गर्यो । दिउँसै पनि ग्रहाण लाग्यो भने नहेर्नु भन्छन् नि । हो अहिले यस्तै भएको छ सरकारले । यो अशुभ हो । देशको बहुमूल्य समय बर्बाद भयो त्यसको चिन्ता हो।’
अध्यक्ष ओलीले उहाँहरुलाई धेरै जनालाई मन्त्रिपरिषदमा सामेल गराउन नपाएर पनि समस्या भएको हुनसक्ने बताए । उनले भने,‘अझै उहाँहरु रंगीविरंगी सरकार बनाउने कोशिशमा हुनुहुन्छ । उहाँहरुको रेकर्ड त ६४/६६ को रेकर्ड छ । तर संविधानले २५ मा सीमित गरिदिएकाले उहाँहरु सकसमा हुनुहुन्छ ।’
उनले न्यायाधीश, वकिल र पत्रकारहरूलाई पदक दिएर आफ्नो विरुद्धमा बोल्नबाट रोक लगाएको आरोपसमेत लगाए । उनले संविधान दिवसको दिन ९०३ जनालाई पदक दिएको भन्दै उनले रत्नपार्कमा बसेर पदक वितरण गरेजस्तो भएको बताए ।
उनले भने, ‘फैसला गर्ने न्यायाधीशलाई बहस गर्ने वकिल, पक्षमा लेख्ने पत्रकार सबैलाई पदक दिएर मुख थुनेका छन् । विराधी नै भएनन् सरकारका अब । यतिधेरै पदक कहिल्यै बाँडेका थिएनन् । रत्नपार्कमा बसेर बाँडे भयो नि । हामीले यसरी बाँडेको भए बुद्धिजीवी के भन्थे। नागरिक समाज के भन्थ्यो ? अहिले सबै चुपचाप सवै शान्त ।’ उनले आफ्नो पालामा अगाडि सारेका १४ सय सडकका आयोजना रद्द गरेर सरकारले बहादुरी देखाएको भन्दै आक्रोश व्यक्त गरे । उनले भने,‘रणनीतिका १४ सय सडक रोक्नु भनेको के हो ? अघिल्लो सरकारले १४ सय सडक बनाउँछु भन्यो । यो सरकारले केपी ओलीको फूर्ति यसरी देखाइदिन्छौं भनेर विकास निर्माण बन्द गर्यो ।’
उनले कर्मचारी अपायक सरुवा गरेर अलोकतान्कि काम गरिरहेको आरोप लगाए । उनले भने,‘कर्मचारीलाई अपयाकमा सरुवा गरेको, काँधमा बच्चा भएको महिलालाई दुर्गममा जागिर खान नसक्ने गरी सरुवा गरिएको छ । यस्तो लोकतन्त्र हो ।? शेरबहादुर देउवाजीले नेतृत्व गरेको सरकार हो यो ?’
अध्यक्ष ओलीले नेकपा एमाले रैथाने लोकतन्त्रवादी भएको बताए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया