पूर्व माओवादीहरु एक हुनुपर्ने समय आयो : प्रचण्ड, नयाँ ठाउँमा आवद्ध : भट्टराई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न समूहमा रहेका पूर्व माओवादीहरु एक हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । माओवादी आन्दोलनलाई भ्रष्टीकरण र विसर्जित गर्ने षड्यन्त्र भइरहेकाले पूर्व माओवादीहरु एक ठाउँमा उभिनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

शुक्रबार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीतिसंग्रह विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘अहिले जसरी माओवादी जनयुद्धलाई विद्रुपीकरण गर्ने, त्यसलाई भ्रष्टीकरण गर्ने, माओवादी आन्दोलनलाई विखण्डित र विर्सजित गर्ने षड्यन्त्रहरु भइराखेका छन्, त्यसका विरुद्ध एक हुने उपायहरुको खोजी गर्नु बुद्धिमानी हुन्छ । अहिलेको माक्र्सवाद त्यही हो । हामी हिजोसँगै लडाइँ लडेकाहरु प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध एकजुट हुने आजको आवश्यकता हो ।

प्रचण्डले प्रतिक्रियावादीहरुले आफूहरुलाई सखाप पार्ने षड्यन्त्र गरेकाले त्यसका विरुद्ध नयाँ खालको जनयुद्धको खोजी गर्नुपर्ने समेत बताए ।
लाखौं जनतालाई लिएर आन्दोलित भई वर्तमान निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सकिने उनको भनाइ छ ।

कार्यक्रममा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले पूर्व माओवादीहरु एकै ठाउँमा आउने कुरा भावनात्मक कुरा मात्रै भएको टिप्पणी गरे । पूर्व माओवादी एकठाउँमा आउने भन्दापनि नयाँ विचार र संगठनको आवश्यकता रहेको उनको भनाइ छ ।

नयाँ विचार सँगसँगै पार्टीको पनि नयाँ संगठन, नयाँ ढाँचा हो । त्यसैले त्यसमा पहिले बहस छलफल गरौं ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: