लेकाली समुदायमा न दशैं आउँछ, न त तिहार

ओलाङचुङगोला : देशभर केही दिनदेखि दशैंको उल्लास रह्यो । मान्यजनको हातबाट टीका लगाउन र आशीर्वाद लिन प्रायः सबै व्यस्त भए, तर लेकाली समुदायमा न दशैं आउँछ, न त तिहार नै ।

त्यही लेकाली समुदायका एक हुन्, ६५ वर्षीय योन्जेन शेर्पा । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका उनी याक–चौँरीगाईसँग रमाउन थालेको ६५ वर्ष भयो ।

समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाइको मौवटारमा उनको गोठ छ । छोराछोरीलाई अंशका रुपमा चौँरी बाँडेर पनि उनीसँग अहिले ३० वटा छ । दशवटा दुहुना छन् । बिहान उठ्ने बित्तिकै एक गिलास दूध चिया लिए पछि झिसमिसेदेखि दुहुना चौँरी बटुलेर दूध दुहुँदा घाम लागिसक्छ ।

तिनलाई चरन क्षेत्रमा पुर्‍याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ । बिहान दुहेको दूधलाई मोही, घ्यू र छुर्फी बनाउँदासम्ममा घाम क्षितिजपारी पुगिसक्छ । साँझ परेपछि छरिएका चौँरी र याकलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म जुन उदाइसक्छ । यसैगरी लेकाली बस्तीका समुदायको दिन बित्छ ।

उनीहरूको मुख्य पुर्खौली पेसा चौँरी–याकपालन नै हो । वर्ष दिनमा आउने दशैं तिहारजस्ता पर्वबारे आफूहरूलाई थाहै नहुने भएकाले चासो नभएको फक्ताङलुङ गाउँपालिकाका हेम्वे शेर्पाले बताए । चौँरी याकसँग हिमाल डुल्दाडुल्दै कतिखेर दशैं आउँछ कति खेर तिहार आउँछ थाहा नै नहुने गरेको अर्का स्थानीयवासी तेन्जिङ शेर्पाले बताए ।

मौवटारमा चार, सिंजेको पोखोरी क्षेत्रमा तीन, र याङमा क्षेत्रमा नौवटा याकको घुम्ती गोठ छ । मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोला क्षेत्रमा ३५ घुम्ती गोठ रहेको मिक्वाखोला गाउँपालिका–५ वडाध्यक्ष डण्डु लामाले बताए ।

ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँ धेरै लेकाली बस्ती छ । हिमाली बस्तीमा बासोबास गर्ने समुदाय पशुपालनमै निर्भर हुने भएकाले दशैंको खासै महत्व नहुने फक्ताङलुङ–७ का चुङदाक शेर्पाले बताए ।

सहर बजारमा दशैंको उत्साह छाए पनि हिमाली बस्तीमा दशैं तिहारको न उत्साह न त उमङग नै दैनिक चौँरी याक चराउँदैमा उनीहरूको दिन बित्नेगर्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया