जापान । ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनशिप २०२१’ को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले जितेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर भएका छन् ।
जापानको नायोगा शहरको नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हलमा आज आइतवार सम्पन्न ४९ औँ सस्करणको यो प्रतिस्पर्धामा अन्तराष्ट्रिय बक्सर खेलाडी घिमिरेले जापानका व्यावसायिक किक बक्सर फुजीमुरालाई हराएका हुन् । उनीहरू दुवै ‘के वान के बक्सिङ प्रतिस्पर्धामा’ मा खेलिसकेका अनुभवी खेलाडी हुन् ।
‘हिमालयन चितुवा उपाधि’ ले विश्व प्रसिद्ध अविरलले यो प्रतियोगिता चुमेसँगै सामाजिक सञ्जालमार्फत जितका लागि आफ्ना पिता अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवम् प्रशिक्षक देवकुमार घिमिरे, आयोजक सिमुरा डोजो सहित नेपाली खेलप्रेमीलाई धन्यवाद दिएका छन् ।
जापानको चर्चित सिमुरा डोजोले प्रतियोगिताको संयोजन गरेको थियो । अविरलले यही डोजोमार्फत आफ्नो प्रतिभा प्रस्फुटन गर्दै आएका छन् । प्रशिक्षक देवका अनुसार नेपाली खेलाडी ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनशिप २०२१’ प्रतियोगितमा छनोट हुनु आफैँमा प्रतिष्ठाको विषय हो ।
उनका अनुसार खेलाडी अविरलले गएको चैतमा जापानको टोकियो शहरमा सम्पन्न ‘के वान फेस्टिबल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने मौका पाएका थिए ।
उनले जापानी व्यावसायिक बक्सर खोतेचुलाई पहिलो राउन्डमा नै ढालेर नयाँ इतिहास कायम गरेका थिए । यसैगरी उनले गएको वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजीमाथि सहज जित हात पारेका थिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया