विवादित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरलाई राजीनामा दिन चौतर्फी दबाब

काठमाडौं । विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन चौतर्फी दबाब परेको छ । १४ न्यायाधीशले फुलकोर्ट बहिस्कारको निर्णय गरेको भोलिपल्ट चार पूर्वप्रधानन्यायाधीश, नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेका हुन् ।

पूर्वन्यायाधीश समाजले यसअघि शुक्रबार नै प्रधानन्यायाधीशलाई राजीनामा दिन आग्रह गरेर विज्ञप्ति जारी गरेको थियो भने केही वरिष्ठ कानुन व्यवसायीले पनि अनौपचारिक रुपमा राजीनामा मागेका छन् ।

संवैधानिक परिषदसम्बन्धी मुद्दाको सुनुवाइ रोकेको, सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोला प्रथा लागू गर्न नमानेको, कार्यकारी निकायसँग लेनदेनमा सहभागी भएको जस्ता आरोप लागेका प्रधानन्यायाधीश जबरा सोमबारसम्म न्याय क्षेत्रमा करिब एक्लिएका छन् । पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश, कानुन व्यवसायी र आफ्नै सहकर्मीको पनि उनले साथ पाएनन् ।
पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले न्यायालयमा देखिएका समस्याको सिर्जना प्रधानन्यायाधीशले नै गरेको भन्दै समाधानका लागि उनले नै जवाफदेहीता देखाउनुपर्ने बताए ।

उनीहरुले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘न्यायपालिकाको समक्ष उपस्थित चुनौतीहरुको माझमा न्यायपालिकाको स्वार्थलाई आफ्नो स्वार्थ भन्दा माथि राखेर बहिर्गमन गर्ने आँट देखाउन सम्बन्धित न्यायिक नेतृत्वलाई आह्वान गर्दछौं ।’ सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागेको हो । यसअघि गत शुक्रबार पूर्वन्यायाधीश समाजले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबराले निकास दिनुपर्ने र नभए संसदले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएको थियो ।

सोमबार सर्वोच्च अदालतका १३ जना न्यायाधीशले प्रधानन्यायाधीश जबराले तोकेको इजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश जबराले आफूबाहेक सोमबार अदालतमा उपस्थित १३ न्यायाधीशका लागि ६ वटा संयुक्त र एउटा एकल इजलास गठन गरेका थिए ।

न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरासँग भेट्ने सहमति गरेका छन् । छलफलमा केही न्यायाधीशले जबराले केही सुधार नगर्ने भएकाले भेट्नुको अर्थ नहुने बताएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: