माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन ११-१३ पुसमा काठमाडौंमैं गर्ने निर्णय

नेकपा (माओवादी केन्द्र)ले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता यथास्थितिमा अगाडि बढाउन नहुने निर्णय गरेको छ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले एमसीसी परिमार्जनबिना अगाडि बढाउन नहुने निर्णय गरेको हो। ‘एमसीसीमा केही प्रश्न उठेका छन्। हाम्रो पार्टी केही कुरामा राष्ट्रिय सहमति नभइकन र केही सच्याउनुपर्ने कुरा नसच्याई अगाडि नबढाउने भन्ने भएको छ,’ प्रवक्ता कृष्ण महराले भने।

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र प्रचण्डले एमसीसी पारित गराउन अमेरिकालाई पत्र लेखेर पठाइसकेको बताएका थिए । जसमा माओवादी अध्यक्ष प्रचण्डले पारित गराउन राष्ट्रिय सहमति खोज्न प्रयत्न गर्ने भनेर माओवादी पार्टीले पत्र पठाएको दाबी गरेका थिए । देउवा र प्रचण्डमध्ये एउटाले झुटो बोलेको भनेर चर्चा भइरहेका बेला माओवादी पार्टीले एमसीसी परिमार्जनमा जोड दिएको हो ।

स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर सांगठनिक कामहरु टुंग्याउनुपर्ने निष्कर्षसमेत निकालेको छ । ‘प्रदेश अध्यक्ष र इन्चार्ज तोकियो केही प्रदेशमा पदाधिकारी तोक्न बाँकी छ। सबै प्रदेशमा टुंग्याउने, पदाधिकारीमा कसलाई कहाँ राख्ने परामर्शमा टुंग्याउनेगरी प्रदेशमा रहेका पार्टीका केन्द्रीय सदस्य र केन्द्रीय अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको छ ।

बैठकले ११/१३ पुसमा तोकिएको राष्ट्रिय सम्मेलन काठमाडौंमै गर्ने निर्णय समेत गरेको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया