प्रदेश र स्थानीय तहलाई बलियो नबनाएसम्म विकास असम्भव : मन्त्री शर्मा

मोरङ । अर्थमन्त्री जनार्दन शर्माले मुलुक संघीय संरचनामा गए पनि प्रदेश र स्थानीय तहलाई बलियो बनाउने कुरामा बेवास्ता भएका कारण देशको विकासले गति लिन नसकेको बताएका छन् । उनले जनतासँग जोडिएका प्रदेश र स्थानीय तहलाई बलियो नबनाएसम्म विकास असम्भव रहेको बताए ।

शुक्रबार मोरङ व्यापार संघको ६५ औं साधारणसभा उद्घाटन समारोहमा मन्त्री शर्माले संघले सबै अधिकार आफ्नै हातमा राख्न खोज्ने, प्रदेश र स्थानीय तहलाई अधिकार दिनबाट वञ्चित गर्ने काम भएकाले सरकारको कामले अपेक्षित रुपमा गति लिन नसकेको दाबी गरे ।

उनले भने, ‘अब प्रदेश र स्थानीय तहलाई बलियो बनाउनु पर्छ, जनतासँग जोडिएका स्थानीय तहलाई बलियो नबनाएसम्म विकास असम्भव छ ।’ उनले जनतालाई एकाकार गरेर काम गर्नुपर्ने खाँचोसमेत औंल्याए । ‘नेपालको विकास समुदायमा आधारित छ, त्यसलाई आजको आवश्यकताका आधारमा सदुपयोग गर्नुपर्छ,’ मन्त्री शर्माले भने ।

मन्त्री शर्माले सुनसरीको अमडुवामा रहेको सरकारको ६२५ बिघा जग्गामा उद्योग स्थापनाका लागि चाहिने आवश्यक पूर्वाधार, विद्युत, श्रमशक्ति र जग्गा लिज लिने भए प्रक्रिया मिलाएर दिन आफूू तयार रहेको पनि उद्योगीहरुलाई बताए । उनले प्रदेश १ मा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने, शैक्षिक टुरिजमको विकास गर्ने र स्वास्थ्य टुरिजमको विकास गर्नुपर्नेमा जोड दिए ।
मन्त्री शर्माले देशको विकासका लागि अब असमानतालाई अन्त्य गर्ने खालको सुधारिएको पूँजीवाद आवश्यक रहेको बताए । सगरमाथाको फेदमा लाखौं मानिस पुग्ने वातावरण बनाउनु सरकारको योजना रहेको उनको भनाइ छ ।

उदयपुरको लिम्चिङबुङमा पर्यटकीय क्षेत्र बनाउने विषयमा निजी क्षेत्रले सहयोग गर्नुपर्ने मन्त्री शर्माले बताए । उनले १० हजार मेगावाट विद्युत खपत गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: