जापानको अधुरो सपना

दामोदर न्यौपाने । मेरो गाउँको पल्लो घरको दाई जो जापान जानुभएको ६ वर्ष पुगिसकेको थियो । भाउजु पनि ३ वर्षमैं डिपेन्डेन्टमा लैजानुभयो।सुन्छु कमाई पनि राम्रै छरे । काठ्माडौंमा १ महिना अगाडि मात्र ६० लाखमा घडेरी किन्नुभयो र अर्को महिनादेखि घर बनाउन सुरु गर्दै हुनुहुन्छ । २ छोरा र बुवा आमा काठ्माडौंमा नै बस्नुहुन्छ । छोराहरू महंगो स्कूलमा पढ्छन् ।
सबै खर्च जापानबाट नै पठाउनुहुन्छ रे,बुवा ममि चाहिं २ नातिहरू कै हेरचाह गरेर बस्नुहुन्छ। यो सब कुरा मेरो आमाले मलाई सुनाई रहनु हुन्थ्यो १ मेरो पनि प्लस टु सकिन लागेको थियो।बुवाको सानो जागिर थियो,काठ्माडौंमा खानबस्न र मेरो कलेज फ्री अनि बहिनीको स्कूलको फ्री तिर्न पनि धौ धौ पर्थो,नयाँ लुगा किन्लाई दशैं नै आउनुपर्थ्यो अब मैले पनि सोचिरहेको थिए कि मेरो बुवालाई अब सुख दिनुपर्छ,म आफैं कमाउने हुनुपर्छ ।

कलेजका साथीहरू पनि अब जापान जानुपर्छ,तन्नै कमाई हुन्छ रे हिजो कन्सल्टेन्सीमा बुझ्न गाको थियौं भन्दै थिए । अनि मलाई पनि आमाको कुराहरूको याद आउन थाल्यो । अनि घरमा गएर बुवा आमा संग सल्लाह गरें सबै कुरा मिल्यो तर जापान जान लाग्ने खर्च करिब १२-१३ लाख हामी संग थिएन । पोहोर दिदीको बिहेमा लागेको ऋण अझैं तिर्न बांकी थियो । साथीहरूको चाहिं कसैको बुवा दुबई,कतार,मलेसिया जानुभएको छ ।

१२-१३ लाख जुटाउन त्यति गार्हो थिएन । पैसा शिओई आएपछि मात्र बुझाउनु पर्ने र जापान जान करिब ६ महिना जति लाग्ने भएकाले सबैको सल्लाह अनुसार जापानीज भाषा पढ्न जाने निर्णय गरियो । हामी सबै दंग थियौं कि विश्वको बिकशित र शान्त देश जापानको नागोया सिटी जान पाईने भैयो भनेर भाषा पनि सिक्दै थियौं,साथी भाईसंग घुम्न जाने रमाईलो गर्ने कुनै कसुर बांकी राखेनौं ।
बुवा ममिहरू पैसा जुटाउन आफन्तहरूमा धाउनुहुन्थो तर कसैबाट सहयोग आउने छाटकाट नै थिएन,बल्ल-बल्ल मामाले चिनेको मान्छेबाट १ लाखको एक महिनामा ब्याज २ हजार दिने सर्तमा १३ लाख दिने कुरा भयो । २६ हजार महिनाको ब्याज तिर्न हिम्मत गरेर पैसा पनि जोहो गरियो । जापानको शिओई पनि आयो । १२ जनाले अप्लाई गरेको मा १ जनाको चाहिं शिओई आएन । मेरो चाहिं यता पैसाको पनि जोहो गरिसकेकोले जापान जाने तयारी तिर लाग्या,किनमेल,साथीहरूसंग खानपिन सानो पाटी नै गरियो लाग्दै थियो कि हामी पनि चांडै पल्लो घरको दाईहरूको परिबारको जस्तै स्तरमा पुग्ने छौं ।

नयाँ ठाउं,नयाँ मान्छे,आफन्तबाट टाढा मनमा कता-कता एक्लो भएको जस्तो आभाष हुनथाल्यो । अन्त: भिसा पनि आयो,जाने मिती तय भयो,११ जना नै संगै जाने भैयो। सबै जना दंग थियौं । सबै जनालाई हात हल्लाउँदै सुन्दर सपना मनमा सजाएर मातृभूमिलाई बिदाई गर्दै जापानतिर उडेको मेरो मानसपटलमा अझै स्मरण ताजा छ । जापान पनि आईपुगेयौ । सेनपाईहरू सबै जना ब्यस्त । हामी पनि भरखर आएकोले नागोया शहर घुम्न थाल्यौं कलेज सुरु हुन अझैं १ महिना बाँकी थियो । स्टुडेन्ट कार्ड बनिसकेको थिएन । चिनेको दाईले काम गर्ने भए मान्छे खोजेको छ भन्ने बित्तिकै म गर्छु भने भोलि पल्ट देखि नै काम सुरू गरे । पहिलो काम भएकोले समयमा नै उठेर काममा जान्थे ।
पहिलो तलब नै ९० हजार बुझें ।

अब मन फुरून्ग हुन थाल्यो किनकि मैले नेपालमा हुँदा ५० रूपैयाको मस्मस् खान मन लाग्दा बुबासंग माग्नु पर्थो अहिले १०० घन्टा मात्र काम गर्दा नेपाली ९० हजार तलब बुझे । बिस्तारै मान्छे पनि चिन्दै गए,जापान आएको ६ महिना पुग्न लाग्दा अर्को काम पनि सुरू गर्या अनि २ वटा काम गर्न थालियो गाक्कोउ ”कलेज ” ४ घन्टा, काम ९-१० घन्टा,बिदाको दिन १२-१३ घन्टा सम्म काम गर्थें। २४-२५ मान कमाउन थाले । १ वर्षको कलेज फ्री नेपालबाट नै तिरेर आएकोले महिनामा ७-८ मान खर्च गरेर १५-१६ मान बचाउन थाले । २ वटा काम सुरू गर्न लागे देखि नेपाल पैसा पठाउन थाले । ६,७ महिना राम्रै भयो ,११-१२ लाख पैसा नेपाल पठाए ,ब्याज सहित १५ लाख पुगेको ऋण १ बर्ष मै १२ लाख घटाएर ३ लाखमा झारे । घरतिर पनि सबै खुस्सी नै थिए । नेपालबाट आउँदा १५ महिनाको भिसा थियो,अब भिसा पनि थप्ने बेला भयो , सबैको भिसा गाक्कोउले थप्न सहयोग गर्यो ।

२-३ हप्ता पछि सेन्सेईले अफिसमा बोलाएर भन्नु भयो कि म लगाएत ३ जनाको भिसा क्यानसिल भएछ । सुन्दर सपना साकार गर्न जापान आएको म सास फेर्न सकिन,एक्कासी छागाबाट खसेको जस्तो महशुस भयो । कता-कता यो धर्ति नै फाटे जस्तो,ज्वालामुखी बिस्पोट भए जस्तो भयो। अल्ली समालिएर कारण बुझ्न खोजें। कारण सुनेर मुटु यसरी पोलेर आयो कि यहाँ लेख्नै सकिन । कारण यो थियो” गाक्कोउ कार्ड बन्नुभन्दा पहिल्यै काम गरेको गाक्कोउ सुरु हुनु भन्दा पहिल्यै ३ जनाले नै काम गरेका थियौं । हुन त अरूले पनि गरेका थिए तर हाम्रो मात्र डिटेल्स माँगेकोले हाम्रो मात्र भिसा दिएन । यसरी मेरो सपना चक्नाचुर भयो ।
म अझैं ३ लाख ऋण मै नेपाल फर्किनु पर्ने भयो ।
यो पल मेरो जिन्दगीमा गहिरो घाउ बनेर बिझिरहने छ । हामी ३ जनाको त सपना तुहियो। अब जापान जानेले धेरै कुरामा ध्यान दिनुपर्ने छ । पैसा कमाउन भनेर यस्ता साना गल्तीले पनि जीन्दगी नै सखाप पार्दो रहेछ अहिले नेपालमा छु । कसैले सोधीहाले जापान बस्न मन लागेन भनेर कारण देखाउने गरेको त छु तर मेरो जापानप्रति बिपनामा देखेको सपना अधुरो नै रह्यो ।

यो एउटा यथार्थतामा आधारित सन्देश मुलक लेख हो। यस्तो गल्ति अब आउने नयाँ बिध्यार्थीहरूले नगरुन भन्नको लागि मात्र जानकारीको लागि लेखेको हुँ । कसैको जीवनमा मेल खान गएमा क्षमा चाहन्छु । धन्यवाद ।।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: