नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ निर्वाचित

काठमाडाैं । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको मतदान परिणाम अनुसार बानियाँले १०८५ मत ल्याएर बागमती प्रदेश सभापतिमा जीत हात पारेका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई १५८ मतान्तरले पराजित गरेका हुन् । केसीले ९२७ मत प्राप्त गरेका छन् । बानियाँलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षको समर्थन थियो भने केसीको पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह उभिएको थियो । पहिलो चरणमा सिटौला समूहका भीमसेनदास प्रधान प्रतिस्पर्धामा थिए ।
पहिलो चरणको मत परिणाम अनुसार तेस्रो भएपछि प्रधानले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका बानियाँलाई साथ दिएका थिए । प्रधानको साथ पाएपछि बानियाँ केसीलाई पराजित गरी नेपाली काँग्रेस बागमती प्रदेशको पहिलो सभापति बन्न सफल भएका छन् ।

बागमती प्रदेश काँग्रेस संसदीय दलका नेता बानियाँ मकवानपुर जिल्ला सभापति समेत छन् । यसअघि देउवा नेतृत्वको सरकारमा बानियाँले गृह राज्यमन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए ।
पहिलो चरणको मतदानमा बानियाँले ९९२ मत ल्याएका थिए भने दोस्रो हुने केसीले ८७२ मत ल्याएका थिए । तेस्रो हुने भीमसेनले १९७ मत ल्याएका थिए । बढी मत ल्याएका बानियाँले ४८ प्रतिशत मत ल्याएका हुन् । पहिलो चरणमा कुल २१ सय ५१ मतमध्ये २०८३ मत खसेको थियो ।

पहिलो चरणको निर्वाचनमा ४८ प्रतिशत मत प्राप्त गरे पनि कांग्रेसको विधानअनुसार ५१ प्रतिशत मत ल्याउनुपर्ने भएपछि आइतबार पुन: मतदान भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: