धनकुटा । किराँत समुदायले मनाउने विशेष पर्व उधौली सुरु भएको छ । प्रकृतिपूजक किराँत समुदायले मंसिर पूर्णिमामा उधौली पर्व मनाउने गर्दछन् । उधौलीका अवसरमा प्रदेश १ का किराँत समुदायको बाहुल्यता रहेको ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा, धनकुटा, सुनसरी र मोरङमा धुमधामका साथ साकेला नाच सुरु भएको छ ।
परम्परागत भेषभुषा लगाएर किराँत दाजुभाइ तथा दिदीबहिनीहरु सार्वजनिक स्थलमा भेला भएर पारम्परिक साकेला नृत्य प्रस्तुत गर्ने चलन छ । यस अवसरमा परम्परागत बाजागाजा एवं विशेषतः किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाईन्छ ।
साकेला नाच्दा साकेला थानमा सिपालु मासुमी ९विशेषगरी महिला० सक्रिय हुन्छन् । तर, भूमेथानभन्दा अन्यत्र भने प्रायः महिला–पुरुष संयुक्त रुपमा नाच्ने गर्दछन् । यो नाच सहरबजारतिर पनि निकै लोकप्रिय बन्दै गएको देखिन्छ । यसलाई सहरतिर चण्डी नाच पनि भन्ने गरिन्छ ।
किराँत राई यायोक्खाका केन्द्रीय सचिव अर्जुन जम्नेली राईका अनुसार विगतका वर्षमा साकेला नाच १५ दिनसम्म चल्थ्यो । कोरोना महामारीपछि यसलाई छोट्याएर पाँच दिनसम्म साकेला थानको पूजासँगै साकेला नाच्ने कार्यक्रम राखिएको उनले बताए ।
किराँत राई यायोक्खा केन्द्रीय समितिको निर्देशनमा मातहतका जिल्ला कार्य समिति तथा गाउँ इकाई समितिमार्फत साकेला थानमा पूजा गरी साकेला नाच्न सुरु गरिएको सचिव राईले बताए ।
उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला भूमिलाई धन्यवाद दिन पर्व मनाउने गरिएको जनविश्वास छ । भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुषहरू जातीय भेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् ।
उधौली पर्वको अवसरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, प्रदेश प्रमुख र सभामुखले शुभकामना सन्देश दिएका थिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया