जसपाका केन्द्रीय सदस्य गुप्तासहित ६ हजार बढी एमालेमा प्रवेश, ओलीले गरे स्वागत

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित विभिन्न पार्टीका ६ हजार बढी नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

कपिलवस्तुकाे बहादुरगञ्जमा आयाेजित कार्यक्रममा जसपा नेता एवं पूर्व सांसद् गुप्तासहित विभिन्न पार्टीका ६ हजार बढी नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । गुप्तालाई एमाले अध्यक्ष ओलीले माला लगाएर पार्टीमा स्वागत गर्नुभयाे ।

कपिलवस्तु क्षेत्रमा प्रभावशाली नेताका रुपमा परिचित गुप्ताकाे नेतृत्वमा माओवादीबाट निर्वाचित वडाध्यक्ष लगायत विभिन्न पार्टीका ६ हजार बढी कार्यकर्ता र समर्थक एमालेमा प्रवेश गरेका हुन् । एमालेमा प्रवेश गर्नेमध्ये माओवादी केन्द्रका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिकाे संख्या धेरै रहेकाे नेता सूर्य थापाले जानकारी दिनुभएकाे छ ।

अध्यक्ष ओलीले केहीबेर बृहत् सभा एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै हुनुहुन्छ । साेही कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली साेमबार राति रुपन्देहीकाे बुटवल पुग्नुभएकाे थियाे । आज मध्यान्ह बुटवलबाट लुम्बिनीकाे पर्सा चाेक हुँदै अध्यक्ष ओली कपिलवस्तुकाे महाराजगञ्ज पुग्नुभएकाे हाे । पर्सा चाेकमा अध्यक्ष ओलीलाई भव्य स्वागत गरिएकाे थियाे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया