गण्डकी प्रदेश सरकारले मन्त्रालय संख्या विस्तार गर्दै १२ वटा पुर्‍यायो

पोखरा । गण्डकी प्रदेश सरकारले मन्त्रालय संख्या विस्तार गर्दै १२ वटा पुर्‍याएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ संशोधन स्वीकृत गर्दै मन्त्रालय संख्या १२ पुर्‍याएको हो ।

गण्डकी मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता कुमार खड्काले मंगलबार मन्त्रालयको संख्या बढाउँदै आन्तरिक मामिला मन्त्रालय छुट्याइएको जानकारी दिए । उक्त नियमावली संशोधन भएसँगै मुख्यमन्त्री मातहतमा भएको आन्तरिक मामिला मन्त्रालयलाई छुट्टै मन्त्रालय बनेको हो ।

प्रवक्ता खड्काले मन्त्रालय बढाएपनि मन्त्री संख्या भने यथावत रहने प्रष्टयाए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा संविधानले नै २० प्रतिशत संख्या नबढाई मन्त्री बनाउन पाउने व्यवस्था गरेको छ । सोही व्यवस्था बमोजिम प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै १२ वटा मन्त्रालय बनाएको हो ।

‘हिजोसम्म मुख्यमन्त्रीबाहेक १० वटा मन्त्रालय थिए । अब ११ वटा मन्त्रालय र एउटा मुख्यमन्त्री कार्यालय भएको छ,’ प्रवक्ता खड्काले भने, ‘मन्त्रीको संख्या पहिले नै ११ वटा भएकाले त्यो बढ्ने सम्भावना संविधानले पनि रोकिसकेको छ ।
प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले तीन पटक गरी यसअघि नै ११ जना मन्त्री नियुक्त गरिसकेका छन् । जसमध्ये १० मन्त्रीले विभागीय जिम्मेवारी पाइसकेका छन् । तर, मुख्यमन्त्री नेपालीले तेस्रो चरणमा असोज २५ गते विना विभागीय मन्त्रीमा नियुक्त गरेका डोबाटे विश्वकर्माले अहिलेसम्म जिम्मेवारी पाएका छैनन् ।

प्रदेश सरकारले कार्यविभाजन नियमावली संशोधन गरेर आन्तरिक मामिला मन्त्रालय बनाएसँगै उक्त मन्त्रालयको जिम्मेवारी मन्त्री डोबाटेले पाउने चर्चा छ । तर, यसबारे मुख्यमन्त्री नेपालीले निर्णय नगरिसकेको प्रवक्ता खड्काले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी ऐन संशोधन गर्दै पारिश्रमिक बढाएको छ । संघीय सरकारले साउन एक गतेबाट लागू हुने गरी २ हजार रुपैयाँ मासिक पारिश्रमिक वृद्धि गरेको तर, त्यतिबेला प्रदेश लोकसेवा कर्मचारीको तलब बढाउन छुटेकाले अहिले बढाउने निर्णय गरेको प्रदेश सरकारले प्रष्ट्याएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया