गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रीमा डोबाटे विश्वकर्मा नियुक्त

पोखरा । गण्डकी प्रदेश सरकारका विना विभागीय मन्त्रीमा नियुक्त भएको करिब डेढ महिनापछि मन्त्री डोबाटे विश्वकर्माले आन्तरिक मामिला मन्त्रालयको जिम्मा पाएका छन् । शुक्रबार मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले पुस १२ गतेमात्रै मुख्यमन्त्रीको मातहतमा रहेको आन्तरिक मामिला मन्त्रालयलाई अलग्गै मन्त्रालय हुने गरी मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गरेको थियो ।
सोही मन्त्रालयमा पुस १४ गते मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको सिफारिस बमोजिम विश्वकर्मालाई मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकीका प्रवक्ता तथा उपसचिव रामेश्वर अर्यालले जानकारी दिए ।

मन्त्री डोबाटे असोज २५ गते बिना विभागीय मन्त्रीमा नियुक्त भएका हुन् । प्रदेशको १२ औं मन्त्रीका रुपमा नियुक्त भएका उनी त्यसअघि नै मन्त्री नियुक्त हुने चर्चा चलेपनि अन्तिम समयमा आएर उनको ठाउँमा अर्का सांसद विन्दुकुमार थापा मन्त्री नियुक्त भएका थिए ।

निष्ठापूर्ण राजनीति गरेका नेताको नाम कटाएर धनाढ्य व्यापारीलाई मन्त्री नियुक्त गरेको भन्दै मुख्यमन्त्री नेपालीको आलोचना समेत भएको थियो । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारले सत्ता रस्साकस्सीको बेला ७ मन्त्रालय बढाएर ११ मन्त्रालय बनाएका थिए । मन्त्रालय संख्या विस्तार गरे पनि उनले सबै आफ्नै मातहतमा राखेका थिए ।

तर, जेठ २९ मा गुरुङ सरकारलाई हटाउँदै नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीको नेतृत्वमा नयाँ गठबन्धनको सरकार बनेको थियो । गठबन्धन सरकारको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेपालीले ३ चरणमा मन्त्रिपरिषद विस्तारमात्रै गरेनन्, मन्त्री र मन्त्रालय संख्या पनि बढाए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा संविधानअनुसार मन्त्रिपरिषदको संख्या १२ सदस्यीय मात्र बनाउन पाइन्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया