लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समितिका पदाधिकारी हटायो

बुटवल । लुम्बिनी प्रदेश सरकारले अघिल्लो प्रदेश सरकारबाट मनोनित अस्पताल विकास समितिका अध्यक्ष र पदाधिकारी हटाएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले शंकर पोखरेल नेतृत्वको सरकारले नियुक्त गरेका प्रादेशिक र जिल्ला अस्पतालका अध्यक्ष र सदस्य हटाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता मन्त्री तिलकराम शर्माले जानकारी दिए ।

बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन तथा कार्य सञ्चालन आदेश–२०७६ पनि खारेज गरेको छ । यसअघि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले गठन आदेशका आधारमा ध्रुव मजगैयाँलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।

तर कुलप्रसाद केसी नेतृत्वको अहिलेको सरकारले ऐन बनाएर मजगैयाँको ठाउँमा अनन्तराज घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेपछि मजगैयाँ अदालत गएका थिए । सर्वोच्चले प्रदेश सरकारको नाममा घिमिरेलाई काममा नलगाउन अन्तरिम आदेश दिएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया