लोकप्रिय सरकार सञ्चालन गरेर क्रान्ति सफल हुनसक्छ : उपमहासचिव गुरुङ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेले नेपालमा लोकप्रिय सरकार सञ्चालन गरेर पनि क्रान्ति सफल हुनसक्छ भनी प्रयोग गरेको बताएका छन् ।

प्रेस चौतारी काठमाडौँको पाँचौं अधिवेशनको उद्घाटन कार्यक्रममा उनले पार्टीले सरकार सञ्चालन गर्दा धेरै उपलब्धि हासिल गरेको बताए । एमालेले सरकार सञ्चालन गर्दा धेरै सकारात्मक काम गरे पनि त्यो बिकाउन नसकेको उनको भनाइ छ । उनले भने, “बोल्नेको पिठो बिक्छ र नबोल्नेको चामल बिक्दैन भन्ने उखान छ, हामीले बासमती चामल पनि बेच्न सकेका छैनौँ ।”

प्रेस चौतारी नेपालले देशको स्वाधीनता, स्वायतत्ता र देशभक्तिका पक्षमा कलम चलाउनुपर्ने पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुखसमेत रहेका गुरुङको जोड छ । सङ्गठन अरु २१ वटा जनवर्गीय सङ्गठभन्दा फरक भएर काम गर्नुपर्ने उनले बताए । एमाले सरकारले अघि सारेका धेरै जनतासँग जोडिने कार्यक्रमले अहिले निरन्तरता नपाएको उनको भनाइ छ ।

पार्टीका विदेश विभाग प्रमुख डा राजन भट्टराईले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले आगामी निर्वाचनमा हामीले यी काम गरेका थियौँ भनी देखाउन सक्ने काम गरेको बताए । प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले मिडियाले निर्माण गर्ने विचारले नै पार्टीको छवि निर्माणमा भूमिका खेल्ने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया