हुम्ला । हुम्लामा हिमपात शुरू भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको हो ।
शुक्रबार बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो। हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिका–८ लिमिमा सञ्चार सेवा अवरुद्ध भएको छ भने सदरमुकाम सिमकोटस्थित हवाइसेवा पनि प्रभावित बनेको छ।
मौसममा आएको परिवर्तनसँगै शुक्रबारदेखि निकै चिसो बढेपछि यहाँका बासिन्दा बाक्लो कपडा लगाउन थालेका छन् । दिनमा भन्दा बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीयवासीको भनाइ छ।
चिसोबाट बच्न यहाँका बासिन्दा, कर्मचारी, विद्यार्थीले दाउराको जोहो गर्दै आगो ताप्ने गरेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया