पहिचानको आधारमा प्रदेशको नाम राख्न सफल भएकामा गर्व लागेको छ : मुख्यमन्त्री राउत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पहिचानको आधारमा प्रदेशको नाम राख्न सफल भएकामा गर्व लागेको बताएका छन् ।

सप्तरीमा बिहीबार आयोजित कार्यक्रममा उनले पहिचानको आधारमा नामकरण गर्ने मधेश प्रदेश नै पहिलो भएको दावी गरे । अब ढिलो चाँडो संविधानले दिएको अधिकार प्रदेशवासीले पाउने पनि मुख्यमन्त्री राउतले बताए । ‘हिजोसम्म हामीलाई जुनसुकै व्यवहार गरेपनि आउने दिनमा यो अधिकार पनि लिन्छौं’ उनले भने ।

जनसंख्याका आधारमा मधेश प्रदेश पहिलो रहेको भन्दै मुख्यमन्त्री राउतले अरु विषयमा पनि प्रदेशलाई एक नम्बर बनाउने दावी गरे । ‘मुलुकमै जनसंख्यामा १ नम्बर भइसकेका छौं’ उनले भने, ‘अब उद्योगधन्दा सञ्चालन गरेर, कृषिको उत्पादकत्व बढाएर उद्योगी, व्यवसायी, कृषकको चाहना पूरा गरेर यो प्रदेशलाई मुलुककै एक नम्बर प्रदेश बनाउँछौं । विकासको मामिलामा, शान्ति सुरक्षा र समृद्धिको मामिलामा यो प्रदेश नै १ नम्बर रहनेछ ।’

केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार मधेश प्रदेशमा सबैभन्दा धेरै ६१ लाख २६ हजार २८८ जनसंख्या रहेको छ । दोस्रो धेरै बागमती प्रदेशमा ६० लाख ८४ हजार ४२ रहेको छ ।

मुख्यमन्त्री राउतले निजी क्षेत्रको चाहना अनुसार नीति तथा कार्यक्रमहरु नआएसम्म समृद्धि नआउने भन्दै संघीय सरकारले त्यसतर्फ ध्यान दिन नसकेको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया