पत्रकार विश्वकर्माको मृत्यु हुनुमा सिभिल अस्पतालकै लापरवाही : महासंघ

काठमाडौं । पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको मृत्युका विषयमा अध्ययन गर्न नेपाल पत्रकार महासंघले गठन गरेको तीन सदस्यीय अध्ययन समितिले पत्रकार विश्वकर्माको दुःखद निधन हुनुमा सिभिल अस्पतालको लापरवाही मुख्य कारण रहेको ठहर गरेको छ । समितिले तयार पारेको प्रतिवेदन अनुसार नेपाल सरकार समेतको स्वामित्वमा सञ्चालित अस्पताल प्रशासन सेवाग्राहीमैत्री नहुुनुको परिणाम नै पत्रकार विश्वकर्माको निधन भएको हो । समितिले पाटन अस्पतालको समेत लापरवाही औंल्याएको छ ।

यस प्रकरणको निष्पक्ष छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउनु अस्पतालहरुको जिम्मेवारी र कर्तव्य हुने भन्दै प्रतिवेदनमा महामारीका बेला अस्पतालमा भएको लापरवाहीका कारण पत्रकार विश्वकर्माको निधन भएको देखिएकाले उनको परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरिएको छ ।

कोभिड–१९ महामारीका कारण सञ्चार क्षेत्र र पत्रकारहरु संक्रमणको जोखिमका बीच नागरिकलाई सूचना दिने कार्यमा सक्रिय रहे पनि पत्रकार विश्वकर्माको निधनले आमसञ्चार क्षेत्रमा भय सिर्जना गरेको महासंघले जनाएको छ । महासंघले अग्रपंक्तिमा रहेर खटिरहेका पत्रकारहरुको स्वास्थ्य उपचारकालागि विशेष व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

सरकारले सरकारी अस्पतालमा पत्रकारहरुको निःशुल्क उपचार हुने भनी पटक पटक घोषणा गरे पनि त्यो घोषणा कागजी पुलिन्दामात्रै बनेको अवस्था रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया