जापान । एनआरएनए जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनलाई बदर गर्दै तत्काल अर्कों निर्वाचन गराउन संरक्षक परिषदका सदस्य देवमान हिराचनले मंगलबार जारी विज्ञप्तिमार्फत गरेको निर्देशनलाई कथित वक्तव्यको संज्ञा दिदै शिवप्रसाद पौडेल नेतृत्वको कार्यसमिति नै आधिकारिक भएको एनआरएनए आइसीसी अध्यक्ष कुमार पन्तले स्पष्ट पारेका छन ।
मंगलबार राती अबेर संरक्षक हिराचनको नाममा ध्यानाकर्षण पत्र लेखदै एनसीसी जापानको सम्बन्धमा उचित निकास निकाल्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टलाई ज़िम्मेवारी तोकिएको र निजले आफ़नो कार्य गरिरहेको सन्दर्भमा उच्चस्तरीय समितिलाई एनसीसी जापानको विवाद समाधान गर्ने कार्यक्षेत्र नतोकिएकोले संरक्षक हिराचनले गरेको भ्रमपूर्ण गतिविधि आइसीसीलाई अस्वीकार्य रहेको उल्लेख गरिएको छ ।
संरक्षक हिराचनले जारी गरेको वक्तव्यमा हवला दिएजस्तो उच्चस्तरीय समितिमा एनसीसी जापान भंग गर्ने कुनैपनि छलफल र निर्णय नभएको स्वयम् जानकार हुदाहुदै भ्रमपूर्ण वक्तव्य जारी गर्नु आश्चर्यको विषय भएको पत्रमा उल्लेख गरिएको छ ।
शिवप्रसाद पौडेल अध्यक्ष एनआरएनए जापान र अम्बिका जोशी कार्यवाहक राजदूत नेपाली दूतावास टोकियोलाई बोधार्थ दिएर लेखिएको पत्रमा उच्चस्तरीय समितिले आइसीसीलाई सुझाव मात्र दिनसक्ने तर परिषदको कार्यकारी अधिकार प्रयोग गर्न नसक्ने भएकोले पौडेल नेतृत्वको एनआरएनए जापानलाई नियमित काम कार्यवाही अगाडि बढ़ाउन समेत भनिएको छ ।
पत्रमा दशौ महाधिवेशनका लागि प्रतिनिधिहरूको नामावली निर्वाचन समितिमा पठाईसकिएको उल्लेख गर्दै अध्यक्ष पन्तले यस्ता गतिविधि गरि निर्वाचनको वातावरण नधमिल्याउन समेत अनुरोध गरिएको छ । संरक्षकको हैसियतले विधान हातमा लिएर भ्रमपूर्ण गतिविधि गर्न र सहमति र सहकार्यको वातावरण खलबलाउने कार्य आइसीसीलाई स्वीकार्य नहुने समेत स्पष्ट पारिएको छ । साथै संरक्षक हैसियतमा रहन र सोही अनुसारका कार्य गर्न समेत पत्रमार्फत सचेत गराइएको छ ।
मंगलबार नै हिराचनद्वारा जारी विज्ञप्तिमार्फत गैर आवासीय नेपाली संघ जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनलाई बदर गर्दै तत्काल आगामी कार्यकालको निर्वाचन गर्नका लागि संघका संस्थापक अध्यक्ष राजन प्रधानाङगको समयोजकत्वमा पाँच सदस्यीय तदर्थ समिति गठन गरिएको बताईएको थियो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया