
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक लम्बिने भएको छ । शुक्रबार ललितपुरको ग्वार्कोस्थित इन्द्रेणी गार्डेनमा सुरु भएको बैठकले छलफलका लागि १२ वटा एजेन्डा तय गरेको छ ।
बैठकमा अध्यक्ष यादवले ४ वटा एजेन्डा प्रस्तुत गरेका थिए । कार्यकारिणी सदस्यले थप ८ वटा एजेन्डा थप गर्न माग गरेपछि अध्यक्ष यादव सबै एजेन्डामा छलफल गर्न तयार भएका हुन् ।
आन्तरिक विवाद चुलिएको बेला सुरु भएको बैठकमा शुक्रबार स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगमा पार्टी दर्ताबारे छलफल भएको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।
बैठकमा स्थानीय तहमा उम्मेदवार चयन गर्ने विधिबारे छलफल भएको एक सहभागीले जानकारी दिए । ‘गाउँपालिका र नगरपालिकाको वडाको उम्मेदवार छनौट गर्ने जिम्मेवारी सम्बन्धित गाउँपालिका र नगरपालिका कमिटीलाई नै जिम्मा दिने निर्णय भए,’ उनले भने, ‘गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार जिल्ला समन्वय समितिले प्रदेश समितिलाई सिफारिस गर्ने र महानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार पार्टी केन्द्रले नै टुंगो लगाउने निर्णय भयो ।’
उम्मेदवार चयनको क्रममा विवाद भए त्यसलाई समाधान गर्नका लागि केन्द्रमा एउटा कार्यदल बनाउने निर्णय पनि बैठकले गरेको छ । बैठकमा शनिबार एमसीसी सम्झौताबारे छलफल गर्ने तयारी रहेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया