तीनै तहको चुनावमा पार्टीका उम्मेदवारलाई जिताउने गरि काम गर्छु : राकेश श्रेष्ठ

नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्च ११औँ सम्मेलनको तयारीमा छ । फागुन २१ गते सम्मेलन उद्घाटन हुँदैछ । यो सम्मेलनलाई नजिकिँदो स्थानीय तहको निर्वाचन अभियानको पहिलो चरणका रुपमा हेरिएको छ ।
नेकपा एमाले जिल्ला कमिटी रामेछापले पनि काठमाडौँबाट सम्पर्क मञ्चका वडादेखि पालिका तहसम्मका कमिटी गठन र सम्पर्क मञ्चको अधिवेशन पहिलो चरणको चुनावी अभियान नै भएको बताएको छ ।
यस्तो अवस्थामा सम्मेलनको तयारी, नेतृत्व व्यवस्थापन, नयाँ टिमको आगामी कार्यभार लगायतका विषयमा केन्द्रित रहेका नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चका सचिव राकेश श्रेष्ठसँग कुराकानी गरिएको छ ।
कुराकानीको सम्पादित अंशः
*नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चको सम्मेलनको तयारी कस्तो हुँदैछ ?
-नेकपा एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चको ११औँ सम्मेलन भव्य र सभ्य तरिकाले सम्पन्न हुँदैछ । हामीले विभिन्न समिति बनाएर तयारीलाई तीव्रता दिएका छौँ । प्रचार समिति बनाएका छौँ, हल व्यवस्थापनदेखि अतिथि सत्कार र स्वागतका लागि पनि समिति बनाएका छौँ । यी समितिले आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेका छन् ।
अहिले सदस्यता वितरण तथा नवीकरणको कामलाई अन्तिम रुप दिने काम भईरहेको छ ।
समग्रमा सम्मेलनको तयारी करिब करिब अन्तिम चरणमा पुगेको छ भन्दा हुन्छ ।
*सम्पर्क मञ्चको अधिवेशन खर्चिलो हुँदै आयो भन्छन्, यसपाली सकेसम्म कम खर्चिलो बनाउने भन्ने कुरा पनि छ । कसरी मितव्ययीता अपनाउनु भएको छ ?
-सम्पर्क मञ्चको सम्मेलन खर्चका लागि सदस्यता विस्तार तथा नवीकरणबाट उठको शुल्क नै पर्याप्त हुन्छ भन्ने हाम्रो दाबी छ । सदस्यता विस्तार र नवीकरणबाट उठको शुल्क निश्चित प्रतिशत प्रदेश र केन्द्रमा बुझाउनुपर्ने हाम्रो विधान छ । सोही अनुसार बुझाईसकेपछि बाँकी रहेको रकमबाटै हामी सम्मेलन सक्छौँ भन्ने लागेको छ ।
यदि, नपुग्ने जस्तो देखिएको खण्डमा पार्टीका सदस्यहरु, शुभेच्छुकहरुबाट पनि सहयोग आउने कुरा त छँदैछ । यसकारण, हामी सकेसम्म थोरै खर्चमा भव्य रुपमा सम्मेलन सक्ने पक्षमै छौँ र सोही अनुसार काम पनि गरिरहेका छौँ ।

सम्मेलनले नयाँ नेतृत्व चयन गर्दैछ, औपचारिक, अनौपचारिक दुबै रुपमा आकांक्षीहरु धेरै जना देखिनु भएको छ । आकांक्षीलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
स्वभाविक रुपमा यो सम्मेलनले नयाँ नेतृत्व चयन गर्दैछ । तपाईले भनेको जस्तो आकांक्षीहरु देखिनु पनि स्वभाविक हो । किनकी, नेकपा एमाले जस्तो मुलुककै ठूलो पार्टी, आम जनताले माया गरेको पार्टी र नेपाली जनताको सुखद भविष्य निर्माणको अभियान बोकेर हिडिरहेको पार्टीको जनसंगठनमा नेतृत्वका आकांक्षी हुनु नौलो होइन, यो सुखद कुरा हो ।
रामेछाप–काठमाडौँ सम्पर्क मञ्चमा विगतदेखि सक्रिय रुपमा लागिरहनु भएका साथीहरु धेरै हुनुहुन्छ । निरन्तर लगनशील भएर पार्टीलाई राजनीतिक, सांगठनिक, वैचारिक रुपमा योगदान पुर्याउनु भएका कामरेडहरुलाई उहाँहरुको योगदानमा आधारमा उचित्त जिम्मेवारी सम्मेलनले प्रदान गर्नेछ, यसमा कुनै सन्देह छैन ।

*सर्वसम्मत हुने सम्भावना कति छ ?

-हामी सर्वसम्मत रुपमै आगामी नेतृत्वसहित पदाधिकारी टुङ्ग्याउने पक्षमा छौँ । अहिलेसम्मको अवस्था हेर्दा पनि सर्वसम्मत हुने सम्भावना बढेको छ ।
किनकी, पार्टी एक खालको संकटबाट उठेको समय छ । गाउँगाउँमा एमालेप्रतिको जनलहर कमजोर नभएपनि पार्टी भित्र जुन खालको समस्या देखा पर्यो, त्यसलाई मध्यनजर गरेर यसपटक हामीले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेर एकता र पार्टीका कुनैपनि कमिटीमा मतभेद छैन भन्ने सन्देश दिनु जरुरी छ ।
मुलुकमा एमालेविरुद्द काँग्रेस, माओवादी सहितका सबै दलहरु एक ठाउँमा छन् । उनीहरु एमालेलाई घेराबन्दी गर्न लागिरहेका छन् । यस्तो अवस्थामा हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओेलीले अघि सार्नु भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्ष पूरा गर्न सबै जनसंगठनहरु एक भएर लाग्नुपर्ने छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना पूरा गर्न मन बचन र कर्मले लाग्न सक्ने नेतृत्व सर्वसम्मत रुपमै चयन हुन्छ भन्नेमा आशावादी रहन म कामरेडहरुलाई अनुरोध गर्दछु ।
अब आउने नयाँ टिमको कार्यभार के हुन्छ ?

-स्थानीय चुनावको मिति घोषणा भएको छ । यस्तो अवस्थामा सम्पर्क मञ्चले नयाँ नेतृत्व पाउँदैछ । यो भनेको अवसर पनि हो ।
अब आउने सम्पर्क मञ्चको नयाँ टिमले हाम्रो पार्टीले अघि सारेका कार्यक्रम, नेकपा एमाले रामेछापको ८औँ जिल्ला अधिवेशनले अघि सारेका दिशानिर्देश, पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनले पास गरका नीतिहरु आम जनताका माझमा लैजानुपर्छ ।
अर्को कुरा, नेकपा एमालेबाट निर्वाचित भएर बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बनेर माननीय कैलाश ढुंगेलले विकासका दृष्टिकोणले जिल्लालाई जुन उचाईमा पुर्याउनु भएको छ, त्यसको पनि सशक्त प्रचार आवश्यक छ ।
उहाँले प्रदेश सरकारबाट खेल्नु भएको भूमीका, जिल्लामा सडक, पुल, कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाई लगायतका कार्यक्रमार्फत विकास र उद्यमशीलतालाई जसरी जोड्ने कामको सुरुवात गर्नु भयो, समृद्ध रामेछाप, सुखी रामेछापालीको जुन सपना अघि सार्नुभयो यसलाई लिएर सम्पर्क मञ्चमा जोडिएका साथीहरु रामेछापबासीको घरघरमा पुग्नुहुनेछ । अबको नयाँ आउने नेतृत्व र टिमले यो काम गर्नेछ ।
अर्कोतर्फ, हाम्रो पार्टीबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिहरुले साँच्चै अब्बल भूमीका निर्वाह गर्नुभएको छ । आम जिल्लाबासी दाजुभाई तथा दिदीबहिनीको मन र भावनाको कदर गर्दै उहाँहरुको हरेक दुःख सुखमा साथमा रहने र आगामी स्थानीय, प्रादेशिक र केन्द्रीय ३ वटै निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउन हर तरहले लाग्नु नै अबको नयाँ टिमको काम हुनेछ ।
निर्वाचन नजिकिँदो छ, विगतमा सम्पर्क मञ्च सधैँ निर्णायक भूमीकामा रहेको देखिन्छ । पार्टीले तपाईहरुको कामको प्रशंसा पनि गरेको पाइन्छ । यसपाली पनि त्यो भूमीका कमजोर हुन नदिन कस्ता योजना छन् ?
-निर्वाचन नजिकएको छ । जिल्ला, पालिका, वडा सम्पर्क मञ्चालाई व्यवस्थित गरि भेला, प्रशिक्षण, संगठन सुदृढिकरण, अभिमुखीकरण, जागरण गरि रामेछापबाट काठमाडौँ आएर विभिन्न पेशा व्यवसायमा आवद्ध, युवा, विद्यार्थी सबैलाई विगतमा नेकपा एमालेले राष्ट्र र राष्ट्रियताको पक्षमा खेलेको भूमीका मसिनो गरि बुझाउनु छ ।
हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका विकास निर्माणका काम, जनताको जीवनस्तर उकास्न खेलेको भूमीकालाई जनस्तरसम्म लैजाने योजना बनाईरहेका छौँ । भारतीय नाकाबन्दी विरुद्द डटेर चट्टानी अडान लिँदै राष्ट्रिय हितका विषयमा एमालेले खेलेको भूमीका एमालेजनले मात्रै होइन, अरु पार्टीका संगठित मान्छेले पनि प्रशंसा गरिरहेको विषय हो । यी कामहरु जनताको माझमा लिएर जान्छौँ ।
हाम्रो पार्टी सरकारमा हुँदा गरेका कामको फेहरिस्त लामो छ । यी काम देखाएर आगामी दिनमा गर्ने कामको योजना देखाएर जनतालाई सुर्य चिन्हमा मतदान गर्न आह्वान गर्दै आगामी निर्वाचनमा एमालेलाई भारी मतका साथ जिताउँछौँ ।

*अन्त्यमा के भन्न चाहानुहुन्छ ?
नेकपा एमाले जनताको मनमा बसेको पार्टी हो । जसले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, वृद्ध भत्ता, अपांगता भत्ता, सामाजिक सुरक्षा योजना, ‘गाउँ गाउँमा सहकारी, घरघरमा रोजगारी’ जस्ता लोकप्रीय कार्यक्रम मार्फत नेपाली जनतालाई सुखी र नेपालको अर्थतन्त्रलाई स्वाधिन बनाउन निरन्तर काम गर्दै आयो ।
नेकपा एमाले जनताको भावना अनुसार नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने पार्टी हो । नेकपा एमाले समाजको प्रगतिशील रुपान्तरणमा केन्द्रित नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने पार्टी भएकाले म सबैलाई नेकपा एमालेको देश बनाउने अभियानमा एकतावद्ध भएर लाग्न अनुरोध गर्दछु ।

फेसबुकबाट तपाइको प्रतिक्रिया