माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको पक्षमा मतदान गर्न सहमत

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु प्रश्न उठेका विषयहरुको संसदबाट व्याख्यात्मक घोषणासँगै अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान गर्न सहमत भएका छन् ।
दोस्रो तहका नेताहरुले तयार पारेको व्याख्यात्मक घोषणाको १०बुँदे मस्यौदामा गठबधनका नेताहरु सहमत देखिएका छन् र भोलि आइतबार विहान ९ बजे सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ । त्यो बैठकमा यही सहमति भए सत्तारुढ गठबन्धनको समर्थनमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी संसदबाट अनुमोदन हुनेछ भने पाँचदलीय गठबन्धन पनि जोगिने छ ।
यद्यपि माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको पक्षमा मतदान गर्न सहमत नभए गठबन्धन टुट्ने र एमालेसँग सहकार्य हुनसक्ने कांग्रेस नेताहरु बताउँछन् ।

एमसीसी अनुमोदनका पक्षमा रहेको कांग्रेसले पछिल्लो समय एमालेसँग निरन्तर सम्वाद गरेको छ । शनिबार पनि कांग्रेस उपसपभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की बालकोट पुगेका थिए । एमाले नेताहरुसँग सकारात्मक छलफल भएपनि साँझ सत्तारुढ गठबन्धनको निर्णय भएकाले कुनै सहमति नभएको एक नेताले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया